६ साउन, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालले आफूलाई यथार्थपरक फिल्ममा काम गर्ने चाहना अझै रहेको कुरा व्यक्त गरेका छन्।
पछिल्लो समय गायन पृष्ठभूमिका धेरैजसो गायकहरु नेपाली फिल्मको नायक समेत बनेका देखिन्छन्। आफ्नो गायन करिअरको उचाईंमा रहँदा फिल्म ‘आर्शिवाद’मा मुख्य भूमिकामा अभिनय गरेका ढकालको गायकी झैं अभिनयको पनि प्रशंसा भएको थियो । तरपनि दरबार हत्याकाण्डको समयमा प्रदर्शन भएकाले फिल्म व्यवसायिक रुपमा खासै सफल हुन सकेन ।
‘आर्शिवाद’पछि उनलाई फिल्मबाट अफर नभएका होइनन् । तर, पहिलो फिल्म प्रदर्शनको करीब २० वर्षपछि पनि उनले नयाँ फिल्ममा काम गरेका छैनन् । बेला बखतमा आफैंले गाएको गीतको भिडियोमा भने उनले अभिनय गरिरहेका हुन्छन् ।
बिहीवार ढकालले अभिनय र स्वर भरेको ‘काली’ गीत सार्वजनिक भएको छ । गीतमा उनको जोडी अभिनेत्री नम्रता सापकोटासँग बाँधिएको छ ।
उक्त गीत सार्वजनिक कार्यक्रममा उनले फिल्म अभिनयमा फर्किने आफ्नो सोच रहेको बताएका छन् । उनले भने– ‘फिल्ममा फेरि काम गर्ने सोच त छ । कहिले काहिँ सोचेको कुरा पनि पुग्दैन, कहिले काहिँ नसोचेको कुरा पनि पुग्छ । हेर्दै जाउँ भोलीका दिनमा के हुन्छ । यथार्थपरक फिल्ममा काम गर्ने चाहना छ ड्रामाट्रिकल भन्दा पनि यथार्थमा रहेर बनेको फिल्ममा काम गर्न मन छ ।’
आफूले गाएको गीतमा आफैंले अभिनय गर्दा अझ जीवन्त बन्ने उनको बुझाई छ । गायक ढकाल भन्छन्, ‘पछिल्लो समय आफूले गाएको गीतमा आफैंले अभिनय गर्ने ट्रेन्ड बढेको छ,’ ‘गायकले त्यो गीतलाई जति बुझेको हुन्छ सायद कलाकारले त्यति नबुझ्ला । गाउने व्यक्तिले अभिनय गर्दा अझ जीवन्त आउन सक्छ । अनि, अभिनय र गायकीको सम्बन्ध भनेको नंग र मासुको जस्तै हो ।’ उनले भने।







