११ श्रावण, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नवनियुक्त भएका अभिनेता, कलाकार तथा निर्देशक भुवन केसीले पदभार सम्हालेका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकबाट अध्यक्षमा नियुक्त भएका उनले बुधवार विहान चावहिलमा अवस्थित बोर्डको कार्यालय पुगेर पूजाआजासहित पदभार ग्रहण गरेका हुन् ।
पदभार सम्हाल्दै अध्यक्ष केसीले चाँडै फिल्म सम्बद्ध संघ–संस्था, फिल्मकर्मी, पत्रकार र दर्शकहरुको उपस्थितिमा भव्य गोलमेच सम्मेलन गर्ने घोषणा गरेका छन् । उनले भने, ‘एक–दुई दिनमा नै बोर्डको बैठक बसेर गोलमेच सम्मेलनको प्रस्ताव तारित गर्नेछौं । जसमा प्राविधिकदेखि कलाकारसम्मको उपस्थिति रहनेछ । त्यहाँबाट फिल्म क्षेत्रको समस्या र त्यसलाई समाधान गर्ने उपाय खोज्नेछौं ।’
बोर्डमा अध्यक्षमा नियुक्त भएपछि केसीलाई चलचित्रकर्मीहरुले बधाई दिइरहेका छन् । ४० वर्षको करिअरमा आफूले नेपाली फिल्म क्षेत्रका धेरै समस्याहरु देखेकाले त्यसलाई समाधान गर्न प्रयास गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सरकारले आफ्नो योगदानको मुल्यांकन गरेर अध्यक्षको जिम्मेवारी दिएको बताउँदै उनले अगाडि भने, ‘म अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्न आएको हुँ । म आफ्नो कार्यकालमा तन, मन, वचन र सबैलाई साथमा लिएर नै काम गर्नेछु ।’
दर्शृक र फिल्मकर्मीहरुले आफूबाट आशा र विश्वास राखेकाले आफूलाई काम गरेरै देखाउनु पर्ने चुनौती भएको कुरा पनि उनले भने। फिल्मकर्मीहरुले भोगेका दुःख अहिलेसम्म ज्यूँकात्यूँ रहेकाले आफूबाट त्यो कुरा परिपूर्ति हुन्छ भन्ने विश्वास राख्नु स्वभाविक भएको पनि उनी उल्लेख गर्छन्। उनी बोर्ड अध्यक्षको जिम्मेवारीमा आफूलाई असफल हुने अधिकार नभएको पनि स्वीकार गर्छन् ।







