शर्माबारे प्रतिवेदन लेख्न सुरु गर्दै संसदीय विशेष समिति

११ श्रावण, काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभि प्रकरणबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेखन सुरू गरेको छ।

समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा प्रतिवेदन लेखनको थालनी गरेको समिति सचिव सुरेन्द्र अर्यालले बताएका छन्।

गत विहीबार समितिले लिएको बयानमा शर्माले बजेट निर्माणको क्रममा कुनैपनि अनधिकृत व्यक्ति प्रवेश नगरेको बयान दिएका थिए।

अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलका निम्ति समितिले अर्थ मन्त्रालयको सिसिटिभी हार्डडिस्क प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। प्रहरीको प्रयोगशालाले बजेट भाषणको अघिल्लो दिन जेठ १४ को ५१ वटा फुटेज समितिलाई उपलब्ध गराए पनि कुनै पनि दृश्य प्रस्ट थिएनन्।

यसबारे समिति सदस्यहरूले प्रयोगशालाका विज्ञहरूसँग मंगलबार सोधपुछ गरेका थिए। त्यसक्रममा उनीहरूले धेरै वटा डिभाइसमा ट्रान्सफर गर्नुपर्ने भएकाले प्रस्ट नआएको जवाफ दिएका थिए।

एक हप्ताको लागि समयावधि थपिएको समितिकोे म्याद भोली बिहीबार सकिंदैछ।