फिल्म ‘कृष्ण लीला’ को ‘ए मेरो हजुर’ बोलको गीत टिकटकमा हिट बन्दै

१२ साउन, काठमाडौं । यस वर्षको आशातित फिल्म ‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ बोलको गीत टिकटकमा हिट भएको छ।

तिलिचो ताल र त्यसमाथिको मनमोहक क्षेत्रमा छायांकन भएको गीतमाथि टिकटक बनाउनेको संख्या लाखौं पुगेको छ ।

अहिलेसम्म यो गीतमा चार लाखभन्दा बढी टिकटक भिडियोहरु बनिसकेको र टिकटकमा एक करोडभन्दा बढी भ्यूज भइसकेको निर्माण टिमले जानकारी दिएको छ ।

यो गीतमा एक दिनमै ४० हजार बढी टिकटक भिडियो बनेको कोरियोग्राफर माइकलले जानकारी दिएका छन् । गीतको कमेन्ट बक्समा पनि सकारात्मक प्रतिक्रियाको बाढी छ । यसअघि ‘कृष्ण लीला’को ‘त्यो कथामा एउटा राजा’ गीत पनि टिकटकमा अत्याधिक छाएको थियो ।

बाबुल गिरीको संगीत र डा. डिआर उपाध्यायले लेखेको ‘ए मेरो हजुर’ गीतमा रबि ओड र सुनीता कार्कीको स्वर छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर गीतमा माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन छ ।

यो गीतलाई यूट्युबमा अहिलेसम्म ३७ लाख बढीले हेरिसकेका छन् । यी दुवैले गीतले पाएको लोकप्रियताले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।