१३ साउन, काठमाडौं । पहिलो पटक फिल्म ‘प्रकाश’ मा भिन्न चरित्रमा देखिएका अभिनेता प्रदीप खड्कालाई दर्शक आकर्षित गर्नुपर्ने ठूलो चुनौती देखिएको छ।
यसअघि ‘प्रसाद्र’ जस्तो यथार्थपरक फिल्म निर्देशनबाट सफलता पाएका दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको छ।
फिल्म ‘प्रकाश’बाट अभिनेता खड्काले ठूलो आशा बोकेका छन् । पहिलो पटक फरक अभिनयमा देखिएका खड्कालाई दर्शकले मन पराउँछन् कि पराउँदैनन् भन्ने पनि चिन्ता देखिन्छ, त्यसैले उनले फिल्मको प्रचारलाई चुस्त बनाउन कुनै कसर छाडेका छैनन् । मेकरभन्दा उनी नै प्रचारमा दौडधुप गरिरहेका छन् ।
फिल्मको प्रचारको क्रममा बिहीवार पोखरा पुगेका उनले ‘प्रकाश’ जुम्लामा छायांकन गरिए पनि नेपाली समाजको यथार्थता, भोगाइलाई तथा समस्यालाई फिल्ममा देखाउन खोजिएको तथा फिल्म समाजको यथार्थतामा आधारित कथा भएको उनले बताएका छन् । अभिनेता खड्काले फिल्मले आफूलाई कलाकार बनाएकोमा पनि गर्व महशुस गरको बताएका छन् ।
फिल्ममा प्रदीपको आमाको भूमिकामा अभिनय गरेकी अभिनेत्री दीया मास्केले कुनै पनि पुरुषको हरेक सफलतामा महिलाको हात हुने कुरालाई आफ्नो भूमिकामार्फत् देखाउन खोजेको धारणा राखिन् । एउटा युवकले गाउँको सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्ष फिल्मको मूल कथा भएता पनि आमा र छोराको भावनात्मक सम्बन्धको कथालाई पनि प्रस्तुत गरिएको दीयाको भनाई छ ।
निर्देशक राउतले समाजको यथार्थपरक कथालाई व्यवसायिकीकरण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँदै ‘प्रकाश’ले नेपाली समाजको यथार्थतालाई जीवन्त रुपमा पस्किएको बताए । उनले आफ्नो अघिल्लो फिल्म ‘प्रसाद’भन्दा एक स्तरमाथि उठेर काम गरेको पनि दाबी गरे । त्यस्तै, लेखक विकास सुवेदीले जीवन सङ्घर्षको पहाड भएको विषयलाई फिल्ममा चित्रण गरिएको बताएका छन्।
महेन्द्र अधिकारीले साढे २ करोडमा निर्माण गरेको यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, दिपेन्द्र शाहीलगायतको पनि अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।







