१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम बुझाउँदैछन्।
प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।
आर्थिक वर्ष २०७९\०८० को बजेट भाषणको अघिल्लो दिन अनाधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
सोही दिननै उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको निष्कर्ष सहित समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको थियो।
प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले शर्माको शपथको कार्यक्रम तय गर्नैछ।







