मिनियापोलिस, १९ जेठ – थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् ।
केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उहाँलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।
सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए । देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् ।
जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए । हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ ।
चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ । घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक र भयानक घटनाको संज्ञा दिनुभएको छ । उहाँले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताउनु भएको छ ।










