महाअभियोग सिफारिस समितिको सहजीकरण बैठक बोलाउदैं सभामुख सापकोटा, गरे महाअभियोग अध्ययन छिट्टै सक्न आग्रह

२५ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग सिफारिस समितिको सहजीकरण बैठक राख्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् ।

सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए ।

प्रतिनिधिसभाले साउन २२ मा नै जबराविरुद्धको महाअभियोग सिफारिस समितिमा पठाएको थियो । तर, हालसम्म सिफारिस समितिले काम सुरु गरेको छैन । त्यसकारण सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन ।

संघीय संसद सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति थियो । महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् । संसद सचिवालयको रेकर्डअनुसार यो समितिको जेष्ठ सदस्य रामबहादुर विष्टको नेतृत्वमा पहिलो बैठक बस्नेछ ।

पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि तय गर्ने, संयोजक तोक्ने लगायतका कार्य गर्ने समितिका सचिव गौत्तमले बताए । तर, पहिलो बैठक बस्ने मिति तय भएको छैन ।