३० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धनमा जाने बताएका छन्। त्यसैगरि उनले कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउने गरि चुनावमा खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।
सोमबार पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेकोले सोही अनुसार लागि पर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् । आगामी चुनावको परिणामसंगै काग्रेसलाई देशकै सबैभन्दा बलियो पार्टी बनाउने गरि चुनावमा खटिन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
देउवाले भने, ‘स्थानीय चुनावमा पनि गठबन्धन गरेर सफलता पायौं, फेरि गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’ ‘साथीहरूले जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ’, उनले भने, ‘सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस् ।’
देउवाले जनता देशको मालिक भएको र पार्टीमा सबैलाई समान व्यबहार हुने समेत स्पष्ट पारे।







