३१ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्ने भएको छ।
जबराविरुद्ध महाभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ । बैठकसंगै छानबिन र कारबाही प्रक्रिया सुरु हुन लागेको हो ।
बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका एजेन्डा रहेको महाभियोग सिफारिस समितिका सचिव लक्ष्मी गौतमले बताए ।
महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल गरी चार सदस्य छन् । कांग्रेस र माओवादीबाट २÷२ सदस्य छन् । जसमा कांग्रेसका मिनबहादुर विक र रामबहादुर विष्ट हुन् भने माओवादी केन्द्रका यशोदा सुवेदी र रेखा शर्मा हुन् । एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीका एकवाल मियाँ र जनता समाजवादीका प्रमोद साह सदस्य छन् ।
कांग्रेसबाट समिति सदस्य रहेका रामबहादुर विष्टले समितिको पहिलो बैठकको अध्यक्षता गर्नेछन् । उनी समिति सदस्यहरूमा सबैभन्दा ज्येष्ठ हुन् । समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका संवैधानिक पदाधिकारीलाई सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने कानुनी प्रावधान छ ।
जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।
साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।







