२ भाद्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसद्ममा फिर्ता पठाएको नागरिकता विधेयक कार्यव्यवस्था समितिको असहमतिको बावजुत पनि प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने भएको छ ।
नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा नागरिकता विधेयक कसरी अघि बढाउने भन्नेबारे सहमति जुट्न सकेन ।
उक्त बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए भने प्रमुख प्रतिपक्षले भने केही समय लगाएर थप छलफल हुनुपर्ने माग गरेका थिए ।
कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले राष्ट्रिय जरुरी आवश्यकताको विषय मानेर नागरिकता विधेयक आजकै प्रतिनिधिसभा बैठकबाट पारित गर्नुपर्ने माग गरेका थिए ।
एमालेका प्रतिनिधिले भने सर्वदलीय बैठक बोलाएर नागरिकता विधेयकमा छलफल हुनुपर्ने माग राखेका थिए । एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ’अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ । त्यहाँ सबैका धारणा सुन्नुपर्छ ।’
एमालेकै प्रतिनिधि शेरबहादुर तामाङले भने सभामुख सापकोटाले नै नागरिकता विधेयकमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका छन् ।
सरकारमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र प्रतिपक्षमा रहेको लोसपाले पनि नागरिकता विधेयक पारित गर्नुपर्ने बताएका थिए ।
नागरिकता विधेयकमा कसरी अगाडी बढ्ने भन्नेबारे सत्ता र प्रतिपक्षले आ–आफ्नै अडान राखेपछि सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालले कानुनअनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।







