मुल्लाह उमरका छोरा तालिबान समूहको नेतृत्वमा

काबुल, १९ जेठ (रासस/ एएनआई) –– अफगान तालिबान समूहका संस्थापक मुल्लाह ओमरका छोरा मुल्लाह याकूबले तालिबान समूहको नेतृत्व सम्हालेका छन ।

समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो । अफगान स्रोतका अनुसार तालिबानका कतिपय बरिष्ट सदस्यहरु कोरोनाभाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो ।

अफगानिस्तानका पूर्व राष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिबान आन्दोलनको नेतृत्व गरिरहनु भएको दाबी गर्नुभएको छ ।

गत फेब्रुअरीमा तालिबानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिबान समूहको नेतृत्वमा संकट उत्पन्न भएको छ । तालिबान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ ।

अमेरिकाले तालिबानसँगको सम्झौता बमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिबान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन । विदेशी समाचार संस्थाका अनुसार ओमरका मुख्य सहयोगी एवं महत्वपूर्ण तालिबान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि बैठकहरुमा देखा परेको छैन ।

पछिल्लो समय मुल्लाह याकूब पनि तालिबानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहेका थिए । उनका बुबा मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो । याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

तालिबान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो । तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भिषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिबानलाई सत्ताच्यूत गरेको थियो ।

तालिबान समूहले त्यसयता अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ ।