सन्दीप लामिछाने भन्छन् : सबै आरोपहरू आधारहीन हुन्, म निर्दोष ठहरिने छु

२४ भाद्र, काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले क्यारेबियन क्रिकेट लिग (सीपीएल) बाट बिदा लिएर छिट्टै नेपाल फर्कने बताएका छन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले आफू निर्दोष रहेको समेत बताएका छन् । आफूले नेपालको कानूनमा पूर्ण विश्वास लिएको उनको भनाइ छ ।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको बताए । नेपाल प्रहरीले उनीविरुद्ध बिहीवार पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी हुने बित्तिकै नेपाल क्रिकेट संघले पनि उनलाई नेपाली क्रिकेट राष्ट्रिय टिमको कप्तानबाट निलम्बनमा राखेको छ । गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।