महामारीमा समाजसेवा

विपदको बेला स्वयंसेवकहरुको महत्वपूर्ण भूमिका रहने गर्छ । सामाजिक सेवा, सार्वजनिक निजी तथा सरकारी संस्थाहरुले प्रदान गर्ने सार्वजनिक सेवाहरुको रुप हो, जसमा निश्चित संगठन तथा सशक्त समुदायहरुको स्वयंसेवी समूह निर्माण गर्ने र विपदको समयमा ति समूहहरुको प्रभावकारी परिचालन गरि पीडितहरुमा मानवोचित व्यवहारबाट समानता र अवसर श्रृजना गर्ने कार्य गरिन्छ ।

यसरी गरिने कार्यले गर्दा नै विपदको समयमा समाजमा रोग, भोक तथा मानसिक समस्याको कारण हुने दुर्घटनाहरुमा कमी ल्याउन तथा त्यसको लागि आवश्यक वस्तुहरुको वितरणमा सहजता हुने गरेको इतिहास साक्षी छ ।

दोश्रो विश्व युद्ध पछि बढ्दो व्यापारीकरणको मारमा परेका गरिब तथा विकाशोन्मुख देशहरुमा समाजसेवाको नाममा परियोजनाकरण गरेर कसैको गरिबी, दुःख, पीडा भजाएर आफ्नो रोजिरोटीको भाँडो भर्ने कार्य हुन थालियो जसको फलस्वरुप आज समाजसेवा भनेको कुनै विपद समाधान गर्ने स्वतस्फुर्त कार्य नभई फगत एउटा परियोजानाको रुपमा बुझ्ने गल्ति समाजसेवा गर्छु भन्नेले त बुझेकै छन्, साथ साथै समाजले समेत यसरी नै बुझिरहेकोमा केहि स्वच्छ भावनाका साथ स्वयंसेवी कार्य गर्ने प्रति गरिएको नकारात्मक धारणाले साँच्चै समाजसेवा गर्नेहरु निरुत्साही छन्।

नेपाली समाज समेत यहि दुर्भाग्यको खेलमा फसेको छ, जहाँ समाजसेवा गर्ने ध्येयकी कुनै राजनीतिक पार्टीको उपल्लो तहको हिमचिमले आफ्नो आर्थिक विकास गर्न लागिरहने वा त्यस कार्य गरे वापत समाजमा आफैलाई ठालु घोषणा गर्ने अर्धज्ञानको विकास भईरहेकोछ । समाजसेवामा मानविय व्यवहारको अत्यन्तै महत्व हुन्छ, न कि रुपैयाँको, समाजसेवामा स्वयंसेवी रुपमा श्रम सहयोग गर्ने वा एकै रुपैयाँ दान गर्नेको सम्मान र मुल्य पनि त्यति नै हुन्छ जति लाखौं खर्च गर्नेको हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।

गरिब, दुःखी र विभिन्न पीडाबाट पीडितहरुको सेवा गर्नु उत्कृष्ट मानविय कार्य हो, नकी पीडा भएको स्थानलाई “Place of Project Implementation” घोषणा गरी दुःखलाई परियोजनाकरण गर्नु । यसको बाबजुद पनि समाजसेवा एउटा स्वच्छ भावनाका साथ विपदको बेला समाजमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिक एकता र विकासको लागि गरिने महत्वपूर्ण कार्य हो जसले हाम्रो समाजमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिक कलह, विग्रह, मानसिक विक्षिप्तता व्यवस्थापन गर्न गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

अहिलेको कोभिड्-१९ को महामारीको विषम परिस्थितिमा अझ सामाजिक सेवाको अत्यन्तै महत्व रहेको छ । महामारीमा निष्ठताका साथ गरिने सामाजिक सेवाको अतुलनीय महत्व हुन्छ । जसरी एउटा सैनिकले युद्धको बेला आफ्नो ज्यानको बाजी लगाएर युद्ध मैदानमा आफूलाई उत्साहित बनाएर लडिरहेको हुन्छ, त्यसरी नै एउटा समाजसेवीले महामारीको बेला आफूलाई सेवामा समर्पण गरिरहेको हुन्छ ।

नेपालको सन्दर्भमा चाहे गरिव निमुखाहरुलाई बिहान बेलुकीको छाक टार्ने व्यवस्था गर्न होस, चाहे अत्यावश्यक सेवाहरुको वितरणको लागि होस समाजसेवीहरु अत्यन्तै जोखिमका साथ आफ्नो कार्य गरिरहेका छन् ।

कोरोना भाइरसको जोखिमको बाबजुद सधैं गरिरहेको कार्य गर्न स्वयंसेवक बनेर यत्रतत्र कार्य गरिरहेका नै छन् स्वयंसेवीहरु ।

(बिमली समाजिक अभियान्ता र मिसेस व्युटी कुईन २०१९ को फस्ट रनर अप हुनुहुन्छ ।)