आजदेखि एमडीएमएस लागू हुँदै, अब अवैध मोबाइल नचल्ने

३० भाद्र, काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुने भएको छ ।

विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो ।

आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतः एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ ।