कोरोना सङ्क्रमणबाट झापामा एक पुरूषको मृत्यु

असोज ११, झापा ।
कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । आइतबार कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने नगरप्रमुख पोखरेलले बताए । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ ।

कनकाई घर भई विदेश र काठमाडौंमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए । कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था गरिएको छ ।

त्यहाँ रहेका पाँच चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको नगरपालिकाले जनाएको छ । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।