आम निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

२३ असाेज, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् ।

आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए ।

स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताए । उनले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने पनि स्मरण गराए ।