नेपालमा ‘प्रेमगीत ३’को हिन्दी भर्जनले कति कमायो ?

१ कार्तिक, काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी भर्जन नेपालमा लगाउने समयमा चलचित्र विकास बोर्ड र निर्माताबीच लामै लफडा पर्यो । चलचित्र विकास बोर्डले हिन्दी भर्जनलाई विदेशी सरह रिलिज गर्नुपर्ने अडान राख्ने उता निर्माता भने भाषा हिन्दी भए पनि आफूहरूले बनाएको फिल्म नेपाली नै मानिनु पर्ने कुरामा अडिग रहेपछि विवाद सञ्चार तथा सूचना मन्त्रालयसम्म पुग्यो ।

अन्त्यमा मन्त्रालयमा चलचित्र विकास बोर्डलाई हस्तक्षेप गरेर हिन्दी भर्जनलाई पनि नेपाली सरह नै रिलिज गर्न अनुमति दियो । तर शुक्रबार नेपालीसँगै रिलिजका लागि तयारीमा रहेको फिल्म बेलामा सेन्सर नहुँदा नेपाली भर्जनसँगै असोज ७ मा रिलिज हुन सकेन । यतिन्जेलसम्ममा भारतसँगै विश्वभर हिन्दी भाषामा रिलिज भएको फिल्म पाइरेसी भइसकेको थियो ।

त्यसैले पनि यो फिल्मको बक्स अफिस प्रदर्शन आक्रामक हुन सकेन जुन निर्माता तथा वितरकको अपेक्षाभन्दा ठीक विपरित रह्यो । हिन्दी ट्रेलरमा दर्शकको बढ्दो रुचि देखेपछि निर्माता तथा वितरकले फिल्म नेपाली भर्जनसँगै हिन्दीमा रिलिज गर्ने निर्णय गरेका थिए । तर हिन्दी भर्जनले नेपालीको तुलनामा तीन गुणा कम व्यापार गरेको छ ।

निर्माताले यो फिल्मले नेपालबाट मात्र १३ करोड बढी व्यापार गरेको तथ्यांक सार्वजनिक गरेका छन् । तर इकागजलाई प्राप्त रिपोर्ट अनुसार यो फिल्मले दुवै भर्जनमा गरी १० करोड व्यापार गरेको छ । यो व्यापारमा ठूलो हिस्सा भने नेपाली भर्जनकै रहेको छ । इकागजलाई प्राप्त तथ्यांकअनुसार नेपाली भर्जनमा यो फिल्मले साढे ७ करोड हाराहारी व्यापार गरेको छ भने हिन्दी भर्जनमा फिल्मको व्यापार साढे दुई करोड हाराहारी छ । तेस्रो हप्तासम्म आइपुग्दा फिल्मको हिन्दी भर्जन हलबाट उत्रिसकेको छ भने नेपाली भर्जन बाँकी छ । यसले पनि दर्शकले हिन्दी भर्जन रुचाउने वितरक र निर्माताको आँकलन फेल खाएको छ ।

यो फिल्म रिलिज अघि देशको ठूलो मल्टिप्लेक्स चेनले देशका ठूला सहरमा अनलाइन सर्वेक्षण गरेको थियो जसले नेपालीभन्दा हिन्दी भर्जनमा दर्शक यो फिल्म हेर्न आतुर रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर हाराहारी सो संख्यासहित रिलिज भएको फिल्ममा दर्शकले हिन्दीभन्दा नेपाली नै रोजेका थिए ।

फलत : बक्स अफिसमा नेपालीको तुलनामा हिन्दीको कमाइ उल्लेख्य रुपले कम छ । यसले दर्शकले विदेशी फिल्मलाई हिन्दीमा हेर्नु र नेपाली फिल्मलाई हिन्दीमा हेर्नुमा फरक रहेको सन्देश दिएका छन् । यो सन्देश आगामी दिनमा हिन्दीमा डब गरेर कमाउने सोच राखेका निर्माताका लागि पाठ हुनसक्छ ।