२० जेठ, काठमाडौं । सोमबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।
भारत तथा चीन माथी कडा रुपमा प्रस्तुत हुँदै, अतिक्रमणकारी र कब्जा गर्ने प्रवृत्ति सच्याउँदै सत्यको पक्षमा उभिन भारतीय प्रधानमन्त्री मोदीलाई उनले आग्रह गरे । पूर्व उपप्रधानमन्त्री समेत भएका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर सीमा समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै उनले चीनलाई समेत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा जान/अन्जान आँच पुग्ने वा बल पुग्ने काम गर्न नहुनेमा सतर्क गराए । उनले भने, ‘२०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा भएको सम्झौताको आत्मसमिक्षा गर्न आग्रह गर्दछु ।’
प्रवक्ता श्रेष्ठले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने मागसमेत गरेका छन् ।







