असोज १२, काठमाडौं ।
टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय २५ पुगेको छ । राजधानीको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो ।
वडा नं १ मा सबैभन्दा थोरै २१ जना र वडा नं ३ मा सबैभन्दा धेरै ९५ जना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३ र वडा नं ५ मा ८६ जना संक्रमित भेटिएको नगरपालिकाले जनाएको छ । वडा नं ६ मा ९१, वडा नं ७ मा ८० र वडा नं ८ मा ९४ जना संक्रमित छन् । वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ सङ्क्रमित रहेको तथ्यांक छ ।
कोरोना सङ्क्रमितमध्ये चार सय ४४ जना निको भएर घर फर्किसकेको, तीन सय ४ जना होम आइसोलेसन र ६९ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् ।
टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले जानकारी दिए । काठमाडौं महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएको नगरपालिका टोखा हो ।
नगरपालिकाले सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।
नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । प्रत्येक वडामा एक सय जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन साढे तीन सय रूपैयाँ भत्ता दिने निर्णयसमेत गरिसकेको छ ।
नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोङ्गबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए । (रासस)







