अब सवारी पासको निवेदन इमेलमार्फत, यसअघिको सात दिने पास पनी मान्य हुने

२० जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् ।

निलो रङ्को पास मात्रै मान्य हुनेछ

यही १७ गतेको मन्त्रिपरिषद् बैठकले आजसम्म तोकिएको बन्दाबन्दीको अवधि थपेर ३२ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले मान्यता पाउने र मान्यता नपाउने सवारी पासको बारेमा आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

सङ्घसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा सङ्क्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने भएको छ । पास बनेको जानकारी भएपछि मात्रै कार्यालयमा आउन आग्रह गरिएको छ ।

एम्बुलेन्स, शववाहन, औषधि तथा स्वास्थ्य सामग्री औद्योगिक कच्चा पदार्थ तथा तयारी कृषिका मालवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढुवानीका सवारीलाई भने पास चाहिने छैन । यस्तै सबै प्रकारका खाद्यवस्तु, पशुपक्षी आहार, खसीबोका, दूध तथा दुग्धजन्य एवं निर्माण सामग्री बोक्ने सवारीलाई समेत पास चाहिने छैन, तर ती सवारीले यात्रु बोकेमा भने कारवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण कडाइ गरिएको छ । माथि उल्लेखितबाहेकका सवारी तथा पैदलयात्रुलाई भने उपत्यका प्रवेशमा रोक लगाइएको छ । निर्माण सामग्री बोकेका गाडी भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको छ ।

– नारायण ढुङ्गाना / रासस