प्रचण्ड-बाबुराम गोप्य छलफल, फेरि होला सहकार्य ?

असोज, १२ काठमाडौं । दीर्घकालिन सहकार्यका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ ।

केही दिन अघि भएको गोप्य छलफलमा उपराष्ट्रपति नन्द किशोर पुन पनि सहभागि थिए ।

सत्तारुढ नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला भट्टराईले प्रचण्डलाई एकताको संभावना छ भनेर ढाढस दिएका थिए । पछिल्लो समय नेकपा भित्रको विवाद साम्य भएको जस्तो देखिएपनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकाबीचमा सरकार सञ्चालन र पार्टी सञ्चालनमा सौहार्दताको वातावरण बनिसकेको छैन ।

अर्को तर्फ अहिलेकै अवस्था र सरकारको कामको गतिमा थप रफ्तार आउन नसके आगामी चुनावमा नेकपाको स्थिति अहिले भन्दा खस्कने वा प्रमुख प्रतिपक्षमा पुग्ने आँकलन कतिपय छ ।

यहि सन्दर्भमा दीर्घकालिन सहकार्यलाई लिएर भट्टराई र प्रचण्डबीच गोप्य छलफल भएको हो ।

मिल्ने परिस्थिति आएकोे सार्वजनिक अभिव्यक्ति

केही समय अघि नेकपा माओवादी केन्द्रका सांसद स्वर्गीय भक्ति पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’ को विमोचन समारोहमासँगै देखिएका प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक भट्टराई दुवैले आफूहरु मिल्ने परिस्थिति आएकोे बताएका थिए । अहिलेसम्मका राजनीतिक उपलब्धि जोगाउन आफूहरुको सहकार्य आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफूहरुलाई एकअर्काको भावना बुझ्न कठिन नभएको भन्दै सहकार्यको आवश्यकता औल्याए । स्वर्गीय भक्ति पाण्डेको चाहाना पनि प्रचण्ड र बाबुराम एकै ठाउँमा रहुन् भन्ने रहेको स्मरण गर्दै प्रचण्डले विमतिकाबीच पनि सहमतिको विन्दु भेटिने विश्वास व्यक्त गरे ।
प्रचण्डले सहकार्यको कुरा गरेपछि बाबुरामले पनि सोही आशयको भनाइ राखेका थिए। प्रचण्डसँग विचार नमिलेका कारण नयाँ शक्ति गठन गरेको स्पष्टिकरण दिँदै बाबुरामले हालसम्म प्राप्त ऐतिहासिक उपलब्धि रक्षाका लागि आफूहरुबीच सहकार्य हुने बताए।

फेरि मिल्छन् त प्रचण्ड र बाबुराम ?

१० वर्षे सशस्त्र संघर्षदेखि शान्ति प्रक्रियाको अन्तिम चरणसम्म पनि सँगै पार्टीमा बसेर प्रचण्डसँग सहकार्य गरेका भट्टराई संविधान जारी भएलगत्तै पार्टी परित्याग गरेर नयाँ शक्ति गठनको अभियानमा जुटेका थिए । त्यसपछि दुई नेताबीच लामोे समयसम्म आरोप–प्रत्यारोप चलेको थियो ।

अहिले नयाँ शक्ति, समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीको झण्डामा भट्टराई मधेस केन्द्रीत दलहरुलाई एकिकरण गरेर बसेका छन् । जो पूर्व माआवादीको जनयुद्धप्रति सकारात्मक शक्ति हुन् ।

मधेसको शक्ति एकिकृत भएको, कांग्रेस महाधिवेशनलाई लिएर आन्तरिक विवामा रुमल्लिएको र सरकारको कामको समिक्षा भन्दा आन्तरिक विषयमै अल्झिएको बेला भट्टराई र प्रचण्डबीच दीर्घकालिन सहकार्यको विषयलाई लिएर गोप्य छलफल हुनुलाई महत्वका साथ हेरिएको छ ।

यद्यपी उनीहरुको सार्वजनिक रुपमा अमूर्त सहकार्यको घोषणा हुनु र गोप्य छलफल भएर दीघकालिन सहकार्यको प्रतिवद्धता कसरी कार्यान्वयन हुन्छ ? हेर्न भन्ने चाहिँ केही समय कुर्नै पर्ने देखिन्छ ।