२० जेठ, काठमाडौं । काठमाडौँमा लकडाउनको प्रभाब न्युन देखिन थालेको छ । काठमाडौँको भित्री सडक तथा गल्लीमा मानिसको भीडभाड कायमै छ । त्यहाँ सामाजिक दूरीसमेत कायम गरेको पाइएको छैन ।
पछिल्लो समयमा साना सवारी र मोटरसाइकलको चाप पनी बढ्दो छ । पैदलयात्रुसमेत बढिरहेको पाइन्छ । मुख्य सडक, गल्ली तथा भित्री सडकमा अनावश्यक भीडभाड भएको पाइएकाले सचेत हुन स्थानीय प्रशासनले अनुरोधसमेत गरेको छ । भित्री सडकमा बिहान १० बजेसम्म अत्यावश्यक वस्तु खरिदका लागि खुला गर्ने गरिएको छ । त्यसपछि प्रहरीले स्थानीयलाई हटाउने र पसल बन्द गर्दै आएका छन् । तर त्यती प्रभावकारी भने हुनसकेको छैन ।
सङ्क्रमणदर बढ्दै गएकाले सरकारले बन्दाबन्दीको अवधि थप्दै आएको छ भने विकास निर्माण तथा औद्योगिक क्षेत्रको कामकारवाहीमा खुकुलो बनाउँदै आएको छ । तर आवागमनमा भने अझै कडाइ गर्नुपर्ने अवस्था रहेकाले बन्दाबन्दी कायमै राखिएको छ ।
मुलुकमा कोभिड–१९ का कारण हालसम्म आठ जनाले ज्यान गुमाएका छन् भने एक हजार ८०० भन्दा बढीमा सङ्क्रमण देखिइसकिएको छ । पछिल्ला केही दिनमा भने तीन अङ्कको सङ्क्रमण वृद्धिदर छ । मुख्यगरी भारतको खुला सीमाका कारण सीमावर्ती जिल्लामा लुकीछिपी मानिस प्रवेश गर्दा बढी सङ्क्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो चरणमा सरकारले परीक्षणको दायरा बढाउँदै लगेको र क्वारेन्टिनको क्षमतासमेत बढाउँदै लगेको जानकारी दिनुभयो ।







