कृषि कर्ममै फर्किन थाले मनाङवासी

मनाङ, २० जेठ (रासस) : पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुख्र्यौली पेशातर्फ फर्किन थालेका छन् । कोभिड–१९ को जोखिमले व्यवसायलाई असर पु¥याएपछि यहाँका बासिन्दा पुख्र्यौली पेशामा फर्कन थालेका हुन् ।

पर्यटन तथा होटल व्यवसायमा निर्भर रहेका यहाँका बासिन्दा कोरोना भाइरसका कारण व्यवसाय ठप्प भएसँगै खेतीपाती र पशुपालनतर्फ लाग्न थालेका हुन् । पर्यटकले खचाखच हुने समयमा महामारीका कारण व्यवसाय ठप्प भएको छ ।

अधिकांश स्थानका मानिस अहिले बन्दबन्दीका कारण खेतीपाती गर्नमा तल्लिन देखिन्छन् । थोरै जनसङ्ख्या रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । अहिले चारवटै गाउँपालिकाका बासिन्दा खेतीपाती र पशुपालनमा व्यस्त भएका छन् ।

अहिले यहाँका बासिन्दा चौँरी गोठमा चौँरीसँगै रमाएका देखिन्छन् । चौँरीका बाच्छाबाच्छी स्याहार सुसार र खेतबारीमा रमाइरहेका छन् । यहाँ गहुँ, मकै, करु, फापर, आलुजस्ता अन्नबाली उत्पादन हुने गर्छ भने पशुपालनमा चौँरी, भेडाच्याङ्ग्रा पालिएको हुन्छ ।

यहाँका बासिन्दा चौँरीको ऊन कात्ने, ऊनबाट दोचा, भाँग्रालगायतका कपडा बनाउने गरेका छन् । कोभिड–१९ ले मानिसलाई पुख्र्यौली पेशामा फर्काएको र आत्मनिर्भर बनाउन टेवा पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।