असोज १३, काठमाडौं ।
पद्मश्री पुरस्कार तथा सम्मानका लागि छनौट भएका नाम विवादमा परेपछि यस वर्षको पुरस्कार नै रद्द गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । यस वर्ष पद्मश्री पुरस्कार सञ्जीव उप्रेतीको हंस र पद्मश्री साधना सम्मानका लागि मोदनाथ प्रश्रित छनौट भएका थिए । प्रतिष्ठानले सम्मान र पुरस्कार दुवै साथसाथ दिँदै आएको थियो ।
तर पुरस्कार पाउने उप्रेतीले यौन हिंसाको आरोप लागेका प्रश्रितसँग पुरस्कार नलिने घोषणा गरेपछि छनौट भएका व्यक्तिका विषयमा विवाद उत्पन्न भएको थियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ती जारी गर्दै पुरस्कार र सम्मान रद्द भएको जानकारी दिएका छन् ।
‘विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ती निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरूको इच्छलाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्व घोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तीमा उल्लेख छ । आइतबार पुरस्कार र सम्मान पाउनेको नाम सार्वजनिक गरिएको थियो ।







