२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ ।
कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो । बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ ।
लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् ।
यस्तै विशेष पुनःकर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ । सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् । साधारण पुनःकर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ । त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् ।
पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ । केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, रु १० करोडसम्मका विशेष पुनः कर्जा र साधारण पुनः कर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।







