सैनिक–नागरिक सम्बन्धका कार्यक्रम

असोज १४, काठमाडौं ।
नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यन्वयनलाई पछिल्लो समय तीव्रता दिएको जनाएको छ ।

स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।

सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रस घरसहितको हाटबजार निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले उक्त गाउँपालिकाका अध्यक्षलाई हाटबजार हस्तान्तरण गरेका थिए ।

भौतिक पूर्वाधार मन्त्रालय र सेनाबाट ५०÷५० लाख तथा गाउँपालिकाबाट उक्त कार्यक्रमका लागि १४ लाख रूपैयाँ बजेट उपलब्ध गराइएको थियो । यसैगरी रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईँकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईँकुण्डसम्मको साढे दुई किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ ।

गणले चोलाङपाटीमा प्रतीक्षालय र बुद्ध मन्दिरमा अस्थायी टहरा बनाएको हो । त्यहाँ तैनाथ कालीजङ्ग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको रोहवरमा गोसाईँकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा ३५ लाख छ हजार रूपैयाँ खर्च भएको जानकारी दिइएको छ ।

जुम्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक र बहिरा माध्यमिक विद्यालय भवन, बास्केटबल कोर्ट तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त कार्यका लागि सेनाबाट २५ लाख रूपैयाँ उपलब्ध गराइएको थियो ।

गोरखामा तैनाथ रणसिंह दलले २५ लाख रूपैयाँको लागतमा त्यहाँस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासीय विद्यालयमा चार कोठे भवन र विद्यालयको पर्खाल निर्माण गरी हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । (रासस)