असोज १४, काठमाडौं ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई संघीय स्वरुपको राजनीतिक संरचना बनाउन ध्यानार्षण गराएको छ । आयोगले दलहरूलाई नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको पाँच वर्ष बित्दा पनि आफ्ना संरचनालाई अझैसम्म संघीय स्वरूपमा नढालेकाले पत्रमार्फत ध्यानाकर्षण गराएको जनाएको छ ।
दलहरूले संविधान अनुसारका संरचना बनाएको विवरण प्राप्त नभएकोले पत्र पठाइएको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमका अनुसार राजनीतिक दलहरू संघीयता अनुसारका संरचनामा किन भएनन् भनेर प्रश्न गरिएको छ ।
आयोगले साउन २५ गते स्मरण पत्र लेखेर दल र पदाधिकारीको विवरण अभिलेखीकरण गर्न प्रदेश समितिका पदाधिकारीको विवरण प्रदेश राजधानी रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध गराउन आग्रह समेत गरेको छ । जिल्ला र स्थानीय तहको समितिका पदाधिकारीको विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाउन भनेको छ ।
तर हालसम्म कुनै पनि दलले पार्टीको संघीय संरचनाअनुसारको पूर्ण विवरण आयोगमा बुझाएका छैनन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दल दर्ता गर्दा संघका साथसाथै जिल्ला र प्रदेशको संरचनागत विवरणलाई अनिवार्य गरिएको छ ।
यसअघि नै दर्ता भइसकेका दलहरूलाई मात्रै संघीय संरचनाअनुसारको विवरण माग गरिएको हो । आयोगले दलहरूलाई लेखेको पत्रमा कहिलेसम्म संघीय संरचना अनुसारको विवरण बुझाउनुपर्ने हो त्यसबारे कुनै मिति भने किटान गरेको छैन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टि (नेकपा)ले समेत आयोगलाई आवश्यक भए अनुसारको विवरण उपलब्ध गराएको छैन । अधिकांश स्थानीय तहमा पनि नेतृत्व चयन भएर आएको भए पनि नेकपाको विधानतः उल्लेख भएका संरचनाहरू भने सबै ठाउँमा बनेका छैनन् । संसदीय दल अन्तर्गत रहने संसदीय बोर्ड गठन भएको छैन ।
केन्द्रीय लेखा समिति, केन्द्रीय अनुशासन समिति, निर्वाचन समितिहरू पनि गठन भएका छैनन् । कर्मचारी एकिकरण बाँकी नै छ । यहि कारण २४ असोजमा गर्ने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरेको कतिपयको दाबी छ ।
नेकपाको पोलिटब्युरो पनि गठन भएको छैन । केन्द्रीय विभागहरूमा नेतृत्व तोकिए पनि सदस्यहरु चयन हुन बाँकी छ । विदेश विभाग लगायतमा काम बाँकी छ । नेकपा केन्दीय कार्यालय सचिव इश्वरी रिजालले संघीय ढाँचा अनुसार पार्टीको संरचना अधिकांश बनिसकेको तर केही पालिका र वडामा बन्न बाँकी हुनसक्ने बताए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने महाधिवेशनसँगै संघीय संरचनामा जाने बताएको छ । पार्टीको १४औं महाधिवेशनसँगै पार्टी संघीय ढाँचा अनुसारको संरचनामा पुग्ने नेताहरु बताउँछन् ।
नयाँ संरचना अनुसार स्थानीय तह र जिल्ला तहहरूमा संरचना निर्माण भइरहेका छन् । उक्त दलका मुख्य सचिव कृष्ण पौडेलले महाधिवेशनको तयारीमा रहेकाले सोही अनुसारका गतिविधि भइरहेको बताए । महाधिवेशनसँगै संघीय ढाँचामा जाने उनको दाबी छ ।
कांग्रेस महाधिवेशन आगामी फागुनमा तोकिएको छ । तर, नोवेल कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण फागुनमा तोकिएको महाधिवेशन प्रभावित हुने सम्भावना छ । महाधिवेशन धकेलिएमा उक्त दलको संघीय ढाँचा अनुसारको पार्टी संरचना निर्माण पनि धकेलिने निश्चित छ ।
अर्को दल जनता समाजवादी पार्टिमा पनि अलमल छ । संघीय संसदको तेस्रो ठूलो दल जसपा हाल एकीकरणकै प्रक्रियामा छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीको पार्टी संरचना बनिसकेको छैन ।
एकीकरण संघीय संरचना अनुसार हुने भएकाले आगामी मंसिरसम्म पार्टी पूर्णरुपमा संघीय संरचनामा देखिने जसपा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ बताउँछन् । दलीय संरचना माथिदेखि तलसम्मै मिलाउने प्रक्रियामा रहेको र आगामी मंसिरसम्म सकाउने योजना रहेको उनले बताए ।
जसपाको विधान मस्यौदा समितिका संयोजक समेत रहेका श्रेष्ठका अनुसार उक्त दलले विधानमै संघीय स्वरुपको पार्टी भनेकाले जतिसक्दो छिटो संरचना बदलिनेछ । उक्त दलको संघमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति छ । जसको टुङ्गो लागेर पनि निर्वाचन आयोगले स्वीकृत गरिसकेको छ ।







