असोज १४, काठमाडौं ।
जिल्लाको गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ ।
विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० मा सम्झौता भएर भोलिपल्टदेखि भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, ‘गत वर्षको चैत महिनाभित्र यस भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र बेलाबेलामा पानी परेर बिहान अनि बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौँ ।’
विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मसान्तसम्म काम गर्न नपाएको र विगतमा दुई सय कामदारले काम गरेको सो स्थानमा हाल केवल ८० जना खटिएका छन् । ‘भवन निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भयो बाँकी रहेको ३० प्रतिशत काममा सीमा पर्खाल, प्लास्टर, रङरोगन, एसी र आवश्यक सामान फिट गर्नुपर्नेछ,’ उनले भने, ‘सरकारले महामारीका कारण केन्द्र निर्माणमा छ महिनाको समय थप गरेर आउँदो कात्तिकसम्म सम्पूर्ण काम गरिसक्नुपर्ने भनिए पनि माघको अन्तिमसम्ममा मात्र काम सक्ने भएका छाँै ।’
केन्द्रको भवन निर्माण गर्न शुरु गरेको त्यस समयमा आकाशे पानीले समस्या पारेर कयौँ दिनसम्म हिँड्न र सवारी साधनमा सामान ढुवानी गर्नसमेत असहज भएको विभागका निर्माण आयोजना समन्वय कार्यालयका साइट इञ्जीनियर विकास खनालले बताए । उनले भने, ‘केन्द्रमा जडान गर्न आवश्यक कुर्चीमध्ये केवल एक हजार आठ सय २५ आइपुग्यो । अन्य सीमा नाकामा रोकिएर यहाँ आइपुग्न बाँकी छ ।’
केन्द्रमा विभिन्न सामान जडान र एसी हाल्न भारतबाट दक्ष जनशक्ति मगाउनुपर्ने हुँदा काममा ढिलाइ भइरहेको खनालको भनाइ छ । ‘पच्चीस रोपनी क्षेत्रफल ६० हजार वर्गफिटमा फैैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि हुने छ’, उनले भने ।
मुलुकमा लामो समय बन्दाबन्दी नभएको भए केन्द्र निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसक्ने जेभी साइटका प्रमुख इञ्जीनियर राकेश यादवले बताए । उनका अनुसार अब त्यहाँ फिनिसिङको काम अघि बढाइनेछ ।
सो केन्द्र निर्माणका लागि ६५ करोड ८१ लाख ६५ हजार ४५९ रूपैयाँमा निर्माण सम्पन्न गर्न ठेक्का लगाइएको हो । उक्त केन्द्र निर्माण भएमा त्यहीँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिनेछ । (रासस)







