असोज १४, काठमाडौं ।
प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नम्बरको ट्याङ्कर चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए । नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६ सय लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको बताएका छन् ।
दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने छ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ । उनीहरूलाई कालाबाजारी तथा अन्य सामाजिक ऐन अनुसार कारवाही गर्न सिफारिश गरिएको छ । (रासस)







