असोज, १४ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न बुधबार(आज) पनि अध्यक्षद्वयबीच भेटवार्ता हुने भनिएको थियो ।
मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक नियुक्तिका विषयमा बिहीबारदेखि नै ओली र प्रचण्ड दैनिकजसो छलफलमा छन् । मंगलबार भएको छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किएपछि बुधबार पुनः छलफल गर्ने गरी दुई नेताको भेटवार्ता सकिएको थियो ।
ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ ।
नेकपामा मन्त्रिपरिषद पुनर्गठनको विषय पेचिलो बन्दै गएको छ । हालै राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएका उपाध्यक्ष वामदेव गौतमलाई समेत मन्त्री बनाइने चर्चा चलेपछि उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
भागबण्डाको विषयमा कुरा नमिल्दा थप गृहकार्यका लागि बैठक स्थगित भएको स्रोतले बताएको छ ।
ओलीले मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गर्ने अडान कायम राखेका छन् भने प्रचण्ड भने सेट नै परिवर्तन गरेर नयाँलाई पालो दिनुपर्ने पक्षमा रहेका छन् ।







