परीक्षा अंक हेरफेर आरोपमा तीन जना दोषी ठहर

असोज १५, काठमाडौं ।
अधिवक्ता समेत रहेका सुरेन्द्र कोइरालासहित तीन जनाले परीक्षामा अंक हेरफेर गरेको पुष्टि भएको छ । उनीहरूले उक्त कार्य गरेको पुष्टि भएपछि विशेष अदालतले तीनै जनालाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना सजाय सुनाएको छ ।

मंगलबार विशेषको इजलासले कोइरालासहित त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका गोप्य शाखा प्रमुख रामु कर्माचार्य र बानेश्वर क्याम्पसमा कार्यरत केदार भट्टराईलाई परीक्षामा नम्बर हेरेफेर गरेकोमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलासले यस्तो फैसला गरेको हो ।

उनीहरूले भ्रष्टाचार निवारण ऐनको दफा १३ बमोजिम कसूर गरेको भन्दै सजाय सुनाइएको अदालतका उपरजिष्ट्रार इन्द्र कुमार खड्काले जानकारी दिए । दफा १३ मा प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्नेलाई सजाय तोकिएको छ ।

‘सरकारी निकाय वा सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र निर्धारित समयभन्दा अगावै अधिकार प्राप्त अधिकारीले विशेष परिस्थिति परेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानुनी लाभ पु¥याउने बदनियतले कुनै पनि प्रकारले त्यस्तो प्रश्नपत्रको गोपनियता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाको परिणाममा फेरबदल गरेमा वा गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ,’ उक्त दफामा उल्लेख छ ।

कोइरालाले ९ अंक पाएर अनुत्तीर्ण भएका थिए तर ६० अंक थपेर अर्थशास्त्र विषयमा उनलाई ‘टपर’ बनाइएको पुष्टि भएको छ । कोइरालालाई अदालतले उक्त दफा अनुसार ६ महिना कैद र सात हजार रूपैयाँ जरिवाना गरेको छ । सोही ऐनको दफा (३) अनुसार ‘रिस्वत दिने लिनेलाई सजाय’ गर्दै थप साढे चार लाख रूपैयाँ जरिवाना र आठ महिना कैद फैसला सुनाएको छ ।

आन्तरिक परीक्षामा सधैँ अनुत्तीर्ण हुने कोइरालाले एकाएक टप गरेपछि उनी अध्ययनरत पाटन क्याम्पसका कर्मचारी आश्चर्यमा परेका थिए । त्यसपछि अख्तियारमा उजुरी दिँदा त्रिविको गोल्ड मेडल डेढ लाखमा बिक्रि हुने गरेको अनुसन्धानका क्रममा भेटिएको थियो ।

यसैगरी बानेश्वर क्याम्पसका कर्मचारी भट्टराईलाई दफा १३ अनुसार चार महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना तोकिएको छ । साथै कोइरालाझैं घूस लिए÷दिएको आरोपमा थप तीन लाख रूपैयाँ जरिवाना र सात महिना कैद सजाय तोकिएको छ । उनी पनि त्रिविका अर्थशास्त्र विषयका विद्यार्थी हुन् ।

अदालतले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई समेत दुवै दफा अनुसार सजाय गरेको छ । कर्माचार्यलाई परीक्षाको परिणाम फेरदबल गरेको भन्दै पाँच महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना गरिएको छ । घूस लिने दिने गरेकोमा विशेषले थप डेढ लाख रूपैयाँ जरिवाना र ६ महिना कैद तोकेको छ ।

त्रिविको मानविकी संकाय अन्तर्गत पाटन क्याम्पसबाट अर्थशास्त्रमा २०७२÷७३ सालमा अधिवक्ता कोइरालाले सर्वोत्कृष्ट अंक ल्याएका थिए । उनले आफूलाई राष्ट्रपतिबाट पदक लिने इच्छा भएको र भविष्यमा न्ययाधीश बन्न सजिलो हुने भएकाले घूस दिएर तीन वटा विषयमा अंक थप्न लगाएर ‘गोल्ड मेडल’ लिएको बयान दिएका थिए ।

यसैगरी बानेश्वर क्याम्पसका कर्मचारी तथा त्रिविका स्नातकोत्तरका विद्यार्थी र प्रथम श्रेणीमा अर्थशास्त्र उत्तीर्ण गरेका भट्टराईलाई समेत विपक्षी बनाइ मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा उनीहरू विरुद्ध मुद्दा हालेको थियो ।