बारामा १२ वर्षिया बलात्कृत, गाउँमै कुरा मिलाउन दबाब

असोज १५, बारा ।
जिल्लाकी एक बालिका बलात्कृत भएकी छिन् । नातामा काका पर्ने २६ वर्षिय शिवपुजन यादवले १२ वर्षिया बलिकालाई बलात्कार गरेको बलिका र उनका आफन्तले बताएका छन् ।

तर गाउँलेले गाउँमै मिलापत्र गर्न दबाब दिइरहेको उनीहरूको गुनासो छ । बाराको सुवर्ण गाउँपालिकाकी ती बालिकाका अनुसार यादवले असोज १ गत्ते नै उनीसँग जबरजस्ती गरेका थिए । त्यस रात साढे आठ बजे छिमेकीको घरमा लगेर बलात्कार गरेको उनको भनाइ छ ।

घटनापछि शिवपुजन फरार छन् । यो घटना गाउँमै मिलाउन बालिका र उनको परिवारमाथि दबाब दिइएको उनीहरू बताउँछन् । तर, घटना बाहिर ल्याइसकेको बालिकाको परिवार न्यायको लागि लडिरहेको छ ।

डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठीक हुन्न भन्ने धम्की आएको बालिकाकी आमाले बताइन् । उनले भनिन्, ‘गाउँका पञ्चहरु रुपैयाँ लिएर चुपचाप बस्नु । गाउँको कुरा गाउँमै रहन्छ भनिरहेका छन् । नत्र राति गोली चल्नसक्छ, तिमीहरु सुतेको सुत्यै हुन्छौं भनेर धम्की दिइरहेका छन्, हामी रातभरि जागै बस्छौं ।’ तर, आफूहरूलाई पैसा नभइ न्याय चाहिएको उनले बताइन् ।

प्रहरीकोमा जाँदा घरमै जानु भनेर फर्काएको उनले बताइन् । यस्तो परेको बेला वडा अध्यक्षले पनि सहयोग नगरेको बालिकाकी आमाको गुनासो छ । वडा अध्यक्ष रामएकबाल साह कलवार भने बालिकाले न्याय पाउन् भन्ने पक्षमा आफू रहेको बताउँछन् ।

‘तीन दिनपछि घटनाबारे थाहा पाएपछि मैले नै प्रहरी कार्यालयमा गएर उजुरी गर्नुस् भनेको हुँ’, उनी भन्छन्, ‘सिफारिस गरिदनुस् भन्दै ४–५ जना आएर मलाइ नै दुव्र्यवहार गरे ।’ असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता भइसकेको छ ।

बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बताउँदै बाराका प्रहरी प्रवक्ता रहेका डीएसपी गौतम मिश्रले आरोपित यादव भारत पसिसकेको र पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय भइरहेको जानकारी दिए । बालिकाको परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको, मार्ने धम्की दिएको भन्ने जानकारी भने नभएको उनको भनाइ छ ।