भारतिय ब्रोईलर कुखुराका चल्ला बरामद

२०८२ असार १३

सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपमा चोरी-पैठारी गरी ल्याइएका २,५०० गोटा भारतिय ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।

भारतको नम्बर प्लेट भएको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रवक्ता देबेन्द्र बहादुर सिंहले जानकारी दिए। आवश्यक प्रक्रिया पूरा गरी उक्त चल्ला नं. १३ गण परिसरभित्र असार ८ गते नष्ट गरिएको थियो।

अवैध पैठारीमा संलग्न जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–२ निवासी अन्दाजी ५० वर्षीय साबिर अन्सारीलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रवक्ताले बताए।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेश प्रहरी कार्यालयका तत्कालिन प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका तत्तकालिन प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीलाई फाल्गुन २१ गते निर्देशन दिएका थिए ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलको अगुआइमा गएको प्रतीनिधीमन्डल सँगको भेटको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त निर्देशन दिएका थिए ।