जन्मसिद्ध नागरिकतासम्बन्धी ट्रम्पको आदेशमा सर्वोच्च अदालतको समर्थन

उक्त कानूनको फाइदा उठाउँदै नेपाल लगायत धेरै देशका मानिसले अमेरिका गएर बच्चा जन्माउने प्रचलन बढेको छ।

१४ असार २०८२, शनिबार

अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा उनले जारी गरेको ‘बर्थराइट सिटिजनसिपको’आदेशको समर्थनमा फैसला सुनाएको छ। अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएको दिन जनवरी २० तारिकको दिन ‘बर्थराइट सिटिजनसिपको’आदेश जारी गरेका थिए ।

ट्रम्पको उक्त निर्णयपछि २२ राज्यका महान्यायाधिवक्ताहरूले दुई संघीय जिल्ला अदालतमा उक्त आदेश उल्टाउन माग गर्दै मुद्दा दायर भएकोमा उक्त निर्णयलाई तल्लो अदालतका न्यायाधीशहरूले अस्थायी रूपमा रोक लगाएका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्थराइट सिटिजनसिपको आदेशमार्फत जन्मसिद्ध नागरिकताको कानुनमा संशोधन गरेका थिए । उक्त आदेश अनुसार जन्म दिने आमा अवैध रूपमा वा आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा (टुरिस्ट, वोर्किङ भिसा वा स्टुडेन्ट भिसा) बसिरहेको अवस्थामा जन्मिएको बच्चाले नागरिकता पाउने छैनन् ।

जुलाई १८६८ मा अमेरिकी संसदले संविधानको १४औं संशोधन पारित गर्दै अमेरिकामा जन्मिएका सबै व्यक्ति नागरिक हुन् भनिएको थियो । उक्त कानूनको फाइदा उठाउँदै नेपाल लगायत धेरै देशका मानिसले अमेरिका गएर बच्चा जन्माउने प्रचलन बढदै गएको छ।