पशु चिकित्सकहरूको लाइसेन्स परीक्षामा ५३ प्रतिशत उत्तीर्ण (रिजल्ट सहित)

शनिबार, १४ असार २०८२

शनिबार भएको नेपाल पशु चिकित्सा परिषद्को २३औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर ५३ प्रतिशत देखिएको छ । पशु चिकित्सकको परीक्षामा १५६ परीक्षार्थी सहभागी भएकोमा ८३ जना उत्तीर्ण भएको हो ।
यस अगाडी परिषद्को फागुन २४ गते भएको २२औं पशु चिकित्सक लाइसेन्स परीक्षामा १५९ जना परीक्षार्थी सहभागी भएकोमा ४७ जना मात्र उत्तीर्ण भएका थिए जसमा २९ .५५ प्रतिशत मात्र पास भएको थियो ।

त्यो हिसाबले यो पटकको उत्तीर्ण दर राम्रो पाइएको छ । त्यसभन्दा पहिले पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

परिषद्ले २०७४ सालदेखि परीक्षा लिएर लाइसेन्स उपलब्ध गराउन थालेको हो । परिषद्ले प्रत्येक तीन महिनामा लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ । पशु चिकित्सकको लाइसेन्स परीक्षामा अहिले सम्म लिखित मात्र भएकोमा भोलिको दिनमा प्रयोगात्मक परीक्षा समेत हुने गरी तयारी गरिरहेको परिषद्का अध्यक्ष डा. बज्र किशोर प्रसाद शाहले केहि दिन पहिले नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं वार्षिकोत्सवमा बताएका थिए ।