सरकारी सेवा सुविधा फर्काउने तयारीमा पूर्व राष्ट्रपति भण्डारी

सोमबार, १६ असार २०८२। स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवको दिन १४ असार २०८२ मा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेपछी आफुले लिदै आएकी सरकारी सेवा सुविधा फर्काउने तयारीमा छिन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई मासिक भत्ता,सचिवालय खर्च, इन्धन, सुरक्षालगायतको व्यवस्था सरकारले गर्दै आएको छ । विद्यादेवी भण्डारीले घरभाडा र गाडी भने लिएकी छैनन् । सुविधाको गाडी नलिए पनि मासिक २ सय ७ लिटर इन्धन भने लिने गरेकी छिन् ।

भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने घरको भाडासमेत सरकारले तिर्दै आएको छ । उनको भंगालस्थित (छोरीको घर) निवासछेउमै सुरक्षाकर्मीका लागि अर्काे घर भाडामा लिइ मासिक एक लाख गृह मन्त्रालयले तिरिरहेको छ । भण्डारीको सुरक्षामा २० सुरक्षाकर्मी खटिएका छन् ।

२०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पद त्यागेर विद्यादेवी भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी थिइन्। उनी २०७९ फागुन २९ मा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएकी थिइन्।