सोमबार, १६ असार २०८२। गत हप्ता उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पतालमा कार्यरत डा.सन्जिव त्रिपाठीले ४० लाख ३ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो । उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले डा. सन्जिव त्रिपाठीले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत डा. संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने छ ।
उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
यसै सन्दर्भमा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी भन्छन “यसरी नै नेपाल चिकित्सा परिषदलाई बाइपास गरेर उपभोक्ता अदालतले फैसला गर्दै जाने हो भने भबिश्यमा स्वास्थ्य सेवामा गम्भिर असर पर्न सक्नेछ”।
उनका अनुसार यस्ता प्रकारका फैसलाहरूले चिकित्सक र समग्र चिकित्सा पेशालाई निरुत्साहित गर्नेछ र चिकित्सकहरुमा त्रासको वातावरण सिर्जना हुनेछ। सर्वोत्तम प्रयासका बाबजुद पनि कुनै प्रतिकूल परिणाम आएमा गम्भीर दण्डको भयका कारण अब भोलिको दिनमा चिकित्सकहरूले स्वतन्त्र रूपमा अभ्यास गर्न नसक्ने बताउछन्।
गम्भीर बिरामीहरूको उपचार सहज तरिकाले नहुन सक्ने कुरामा आफ्नो चिन्ता बढेको पनि बताउछन् डा. सञ्जीव तिवारी।







