असोज १५, खोटाङ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षमा दुई करोड १० लाख रूपैयाँ बराबरको कृषि विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालयका अनुसार कम्तिमा दुई सय रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको हो ।
नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा. मणीरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा. अर्यालले चक्लाबन्दीमा पकेट र ब्लकर जोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको बताए ।
यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा मकैको बीउ श्रोत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापनाका लागि २० लाख र बसन्ते मकैको क्षेत्रफल बिस्तारका लागि १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
हिउँदे मकै क्षेत्र विस्तारका लागि पाँच लाख र स्वदेशी हाईब्रिड मकै प्रदर्शनका लागि एक लाख २५ हजार रूपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइएको छ । मकै जोन कृषि यान्त्रीकरण सहयोगका लागि २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि १० लाख र गत वर्ष विस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिचाइँ पूर्वाधार निर्माण गर्न ६० लाख रूपैयाँ खर्च गरिनेछ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकासको नारा बोकेको मकै जोन जिल्लामा २०७३ मङ्सिरदेखि सञ्चालनमा ल्याइएको थियो । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडा र हलेसी तुवाचुङ नगरपालिकाका ६ वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रमले ओगटेको क्षेत्रमा शुरुका वर्ष १.९ टन प्रतिहेक्टर मकै उत्पादन भएको ठाउँमा कार्यक्रमपछि गत वर्ष मकैको उत्पादकत्व ३.४७ टन प्रतिहेक्टर पुगेको डा. अर्यालले जानकारी दिए । मकै जोनमा हाल एक सय ३४ कृषक समुह, १३ वटा सहकारी, ७३ उद्यमी तथा दुई हजार नौ सय १५ जना किसान सहभागी छन् ।
कार्यक्रममा सहकारीले मकै जोन अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा बाँडिएको मकैले उत्पादन नदिएको, दिक्तेलमै किसान भरत राईले ९ वटा प्लाष्टिक टनेलमा लगाएको गोलबेँडा नफलेको गुनासो गरेका छन् । (रासस)







