काठमाडाैं । नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रिय बैठकमा लिखित प्रस्ताव राख्दै आफ्नो केहि असहमती दर्ज गराएका छन् । पार्टीको ७औ केन्द्रिय समितिको बैठक असोज ९-१० गते काठमाडौंको प्रज्ञा भवन मा भएको थियो ।
हेर्नुहोस् उनको फरक मत
वर्तमान तरलतायुक्त सङ्क्रमणकालीन परिस्थिति र हाम्रो कार्यभार
प्रिय कमरेडहरू, हाम्रो पार्टीले केही समयदेखि नै भन्दै आइराखेको थियो कि मुलुकको यथास्थिति लामो समयसम्म कायम रहिरहन सक्दैन। यो यथास्थितिलाई छिट्टै अग्रगामी रूपान्तरणद्वारा सकारात्मक कोणबाट अन्त्य गर्न वा समाधान गर्न सकिएन भने यसले देशमा प्रतिगमन वा राष्ट्रिय स्वाधीनतामाथि सङ्कट वा असफल राष्ट्र बनाउने दिशामा धकेल्ने खतरा छ। हामीले यो पनि भनेका थियौँ, मुलुकको यो यथास्थितिलाई सकारात्मक रूपमा अन्त्य गर्नको लागि हाम्रो पार्टीले नेतृदायी भूमिका खेल्नुपर्दछ र पार्टीले आफ्नो साङ्गठनिक यथास्थितिलाई तत्काल गुणात्मक रूपान्तरण गरे मात्रै त्यो सम्भव छ। पार्टीले त्यस दिशामा केही सकारात्मक प्रयत्न गरे पनि रूपान्तरणकारी गुणात्मक हस्तक्षेपद्वारा साङ्गठनिक यथास्थितिको अन्त्य गर्ने सफलता प्राप्त गर्न सकिएन र अग्रगामी पहलद्वारा देशको यथास्थितिलाई अन्त्य गर्ने नेतृदायी हस्तक्षेपयुक्त भूमिका खेल्ने ठाउँमा पुग्न सकेन।
फलतः जेनजी विद्रोहात्मक आन्दोलनले हस्तक्षेप गर्यो। यसले केही सकारात्मक सन्देश र प्रभावसहित अग्रगामी दिशामा जानको लागि केही आधार प्रदान गरेको छ भने सँगसँगै राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि यसका सकारात्मक उपलब्धिहरूमाथि खतरा पनि देखा परेको छ। तसर्थ देश यतिबेला अग्रगमन र प्रतिगमन तथा राष्ट्रिय स्वाधीनता र विदेशी हस्तक्षेप बिच द्वन्द्व सङ्घर्षको तरलता युक्त संक्रमणकालबाट गुज्रिरहेको छ।
जेनजी मुद्दालाई सम्बोधन गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजाने सम्भावना सहितको अवसर एकातिर छ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकासहित देश एउटा वा अर्को रूपको प्रतिगमनको दिशामा जान सक्ने खतरा पनि छ। मुख्यतः नेपालको राष्ट्रिय सार्वभौमिकता र नेपाली जनतामा निहित सम्प्रभुताको रक्षाको प्रश्न अत्यन्त गम्भीर चुनौतीको रूपमा खडा भएको छ।
जेनजी आन्दोलन
जेनजी आन्दोलनको विकासको पछाडि आन्तरिक वस्तुगत कारण छन्। दशकौँको बलिदानीपूर्ण सङ्घर्ष पछाडि देशमा युगान्तकारी महत्वको ऐतिहासिक लोकतान्त्रिक राजनीतिक परिवर्तन भयो। समाजवाद उन्मुख समावेशी सङ्घीय गणतन्त्रात्मक लोकतन्त्रलाई नयाँ प्रकारको लोकतन्त्रका रूपमा संविधान सभाबाट जारी गरेको संविधानमा संस्थागत गरियो। त्यो प्रकार त्यो संविधान कार्यान्वयनको प्रक्रियामा छ। नेपाली जनताले राजनीतिक व्यवस्थामा आएको परिवर्तनबाट सामाजिक आर्थिक रूपान्तरण र समृद्धिको अपेक्षा गरेका थिए, जुन स्वाभाविक थियो। व्यवस्थामा भएको परिवर्तन पछि निश्चय पनि विकासका क्षेत्रमा केही सकारात्मक काम भएका छन्। तर ती मात्रात्मक चरित्रका मात्रै रहे। तर ऐतिहासिक राजनीतिक परिवर्तनको अन्तर्निहित निर्देश, नेपाली समाजको आवश्यकता, र नेपाली जनताले आफ्नो जीवनको आधारभूत समस्याहरू समाधान नेपाली जनताको अपेक्षा बमोजिम सामाजिक आर्थिक रूपान्तरण र समृद्धिले गुणात्मक फड्को मार्न सकेन। र नेपाली जनताले आफ्नो जीवनका आधारभूत समस्याहरू समाधान भई नयाँ जीवन पाएको अनुभूति गर्न पाएनन्।
व्यापक भ्रष्टाचार, कुशासन, घुसखोरी, लुटखसोट, नातावाद, कृपावाद, बेरोजगारी र गरिबीबाट जनता आक्रान्त भए। सरकारमा रहेकाहरू र राजनीतिक नेताहरूको जीवनशैली र संस्कृतिबाट जनताहरू राजनीतिक दल र नेताहरू प्रति नै वितृष्णा बढ्न थाल्यो। केही काम नगरी उच्चस्तरीय जीवन बिताउने हजारौँ राजनीतिक नेता, कार्यकर्ताहरूमाथि कुनै अङ्कुश र नियन्त्रण हुन सकेन। फलतः जनतामा असन्तुष्टि, आक्रोश पैदा हुने गयो, त्यो नै वर्तमान आन्दोलनको वस्तुगत आधार हुन गयो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा आधारित केपी ओली नेतृत्वको पछिल्लो सरकारको निरङ्कुश, असहिष्णु, भ्रष्ट र गैर जिम्मेवार नीति र आचरणले त्यो असन्तुष्टि र आक्रोशलाई उत्कर्षमा पुर्यायो। सरकार, राजनीतिक दलहरू र नेताहरूको अलोकतान्त्रिक र भ्रष्ट चरित्रबाट पैदा हुने स्वाभाविक असन्तुष्टि, विरोध र आक्रोशका अतिरिक्त दल र नेताहरू विरुद्ध चलाइएको योजनाबद्ध प्रचार अभियानले पनि समाजमा घृणा र नकारात्मक मानसिकता घनिभूत बनाएर त्यसको पनि प्रभाव रह्यो। केपी सरकारले युवाहरूको जीवन आचरण र धेरै मानिसहरूको व्यावसायिक औजार बनिसकेको सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले विरोध र असन्तुष्टिलाई उत्कर्षमा पुर्याउने काम गर्यो र भाद्र २३ को जेनजी आन्दोलनको पछिल्लो निमित्त कारण बन्न पुग्यो।
तर हामीले उपलब्ध आन्तरिक घरेलु पक्षहरूको साथसाथै वर्तमान विश्व परिस्थिति, शक्ति राष्ट्रहरूको द्वन्द्व, एक ध्रुवीय विश्वको अन्त्य पछि बिस्तारै कमजोर बन्दै र एक्लिँदै गएको महाशक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्न र प्रभाव विस्तार गर्न विश्वका विभिन्न भागमा घटाएका पछिल्ला घटनाहरू, हाम्रो देशको भूराजनीतिक अवस्थिति र भूराजनीतिसँग जोडेर पनि यसलाई हेर्नुपर्छ। केही साम्राज्यवादी शक्तिहरू आफ्नो रणनीतिक स्वार्थको लागि नेपाललाई प्रयोग गर्न केही समयदेखि यता योजनाबद्ध रूपमा लागिरहेका छन्। यसरी उपरोक्त आन्तरिक वस्तुगत आधार र बाह्य भूमिका दुवैको कुल योगबाट नै यो स्थिति बन्न गएको वा हुन गएको छ।
तर जेनजी पुस्ताको विद्रोहात्मक चेत, साहस, भूमिका र आन्दोलनलाई कुनै पनि कोणबाट न्यून मूल्याङ्कन गरिनु हुँदैन। त्यसको सम्मान गरिनुपर्छ र होनहार नवयुवाहरूको बलिदानलाई सार्थक बनाउन हरसम्भव प्रयत्न गरिनुपर्छ। सामाजिक सञ्जाल माथिको प्रतिबन्ध जेनजी आन्दोलनको विस्फोटको निमित्त कारण देखिए पनि, निमित्त कारण देखिए पनि जेनजी आन्दोलनको मूल मुद्दाको सार तत्त्वलाई, त्यसको सारतत्व चार वटा छ, भ्रष्टाचारको विरोध तथा सुशासन, राजनीतिक दल तथा नेताको शुद्धीकरण एवं पुनर्गठन, राजनीतिक स्थायित्व र समृद्धिलाई बुझ्नुपर्दछ। आन्दोलनका यी मुद्दाहरूलाई सम्बोधन गर्दै अग्रगामी दिशामा लैजान पार्टीले सम्पूर्ण प्रयत्न गर्नुपर्दछ।
अन्तरिम सरकारको गठन र निर्वाचन कसरी ?
जेनजी आन्दोलनकारीको प्रस्ताव अनुसार अन्तरिम सरकार गठन गर्ने संवैधानिक आधार तयार पार्न र आन्दोलनका अन्य मुद्दाहरूलाई पनि सम्बोधन गर्न हामीले निम्न प्रस्ताव राष्ट्रपतिज्यू, राजनीतिक दलहरू र विभिन्न जेनजी प्रतिनिधिहरूसँग राखेका थियौँ। यो प्रस्ताव अध्यक्ष कमरेडले पनि पहिलो प्रस्तावको रूपमा राख्नु भएको यहाँ बताइसक्नु भएको छ। पछाडि चाहिँ संवैधानिक पूर्ण बनाउने कुरा नभइसकेपछि, राजनीतिक एउटा संसद्बाट अनुमोदन त गरौँ कमसेकम भनेर राजनीतिक रूपमा चाहिँ एउटा प्रस्ताव चाहिँ उहाँले गर्नुभएको राष्ट्रपति कहाँ देखिन्छ। तर हामीले राखेको प्रस्ताव के थियो, यसलाई पूर्ण संवैधानिक बनाउन, भने राष्ट्रपति, जेनजी र दलका बीचमा बैठक बसी जेनजीकै प्रस्ताव अनुसार अन्तरिम सरकार गठन गर्ने र त्यस आन्दोलनका मुद्दाहरूलाई पनि सम्बोधन गर्न ठोस सहमति र सम्झौता गर्ने, त्यसपछि प्रतिनिधि सभा बैठक बस्ने र सहमति अनुसार संविधान संशोधन गरेर अन्तरिम सरकार गठनको संवैधानिक आधार बनाउने, जेनजीको मुद्दालाई पनि सम्बोधन गर्न सकिने गरी सहमति भएमा अन्य केही विषयमा पनि संविधान संशोधन प्रतिनिधि सभाबाट गर्ने, राष्ट्रपतिले संविधानको संशोधित प्रावधान अनुसार अन्तरिम सरकारको घोषणा गर्ने, अन्तरिम सरकारले निर्वाचन मिति प्रस्ताव गरे अनुसार राष्ट्रपतिले निर्वाचन मितिको घोषणा गर्ने, प्रतिनिधि सभा स्वतः निष्क्रिय भएर जानेजस्ता प्रस्ताव हामीले गरेका थियौँ।
हाम्रो यो प्रस्ताव मूलतः जेनजी प्रतिनिधिहरूलाई नै बुझाउन नसकिएको कारणले लागु हुन सकेन। त्यसपछिको कठिन परिस्थितिमा राष्ट्रपति ज्यूले दलहरूको समेत सहमतिमा अन्तरिम सरकारको गठन गर्नुभयो। अन्तरिम सरकारको सिफारिसमा फागुन २१ गते आम चुनाव गर्ने गरी निर्वाचन मिति र प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभयो। जेनजीको माग अनुसार संवैधानिक बाटोबाट अन्तरिम सरकार गठन गर्ने र अन्य मुद्दाहरूलाई सम्बोधन गर्ने हाम्रो प्रस्ताव सही हुँदाहुँदै पनि त्यस अनुसार नगई प्रतिनिधि सभा विघटन गरिएकोमा हाम्रो असहमति दर्ज गर्दै हामीले अन्तरिम सरकार गठन र निर्वाचन मितिलाई स्वीकार गरिसकेको अवस्थामा पार्टीले घोषित मितिमा निष्पक्ष निर्वाचन गर भन्ने नारालाई नै अगाडि बढाउनुपर्थ्यो र पार्टी अहिले त्यही निर्णय पार्टीले गरेको छ।
आजको सन्दर्भमा हाम्रा मुद्दागत नाराहरू, हाम्रा मूल मुद्दाहरू के हो त हाम्रो उठाउने भनेको ?
१. राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत हौँ। सम्पूर्ण देशभक्त शक्तिहरू र सुशासन तथा समृद्धिको लक्ष्य प्रति निष्ठावान सच्चा लोकतन्त्र पक्षधर शक्तिहरू एक हौँ। यहाँ मैले भन्न खोजेको कुरा के छ भने देशभक्त शक्तिहरू त सबै बुझिहाल्यो। तर हिजोका परम्परागत पार्टीहरू अहिलेकै अवस्थामा त्यतिकै अब प्रतिगमन हुने भो, अब मेरो भन्ने आधारमा मात्रै अहिले जान सक्ने स्थिति छैन। उनीहरूको पनि पुनर्संरचना, पुनर्गठन, नयाँ ढङ्गले कसरी प्रस्तुत हुन्छ, त्यसपछि मात्रै उनीहरू सुशासन र समृद्धिको लक्ष्य प्रति निष्ठावान हुने तरिकाबाट आए भने हामीले त्यतिबेला हात मिलाउन सङ्कीर्णता अपनाउनु हुँदैन। त्यतिखेर हात मिलाउन सक्ने हुन्छ। तर वर्तमान यथास्थितिमा त्यो ढङ्गले अहिले हामी प्रस्तुत हुनु हुँदैन भन्ने यसको मर्म छ।
२. घोषित मितिमा निर्वाचन सम्पन्न गरौँ । देश विदेशलाई केन्द्रमा राखेर अन्तरिम सरकारलाई सफल पारौँ।
३. जेनजी आन्दोलनको मुद्दा र आवाजहरूलाई सम्बोधन गरी अग्रगामी रूपान्तरण गरौँ ।
४. भाद्र २३ गतेको नरसंहार दमन र भाद्र २४ गतेको विध्वंसकारी घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कारबाही गरौँ।
यहाँ के कुरामा स्पष्ट हुनु जरुरी छ भने जेनजी आन्दोलनकारीहरूमाथि प्रतिक्रान्तिकारी दमन हुन नपाओस् र उनीहरूलाई हतोत्साहित बनाउने काम नहोस्। भाद्र २४ गतेको विध्वंसमा मूलभूत रूपमा जेनजी आन्दोलनकारीहरू जिम्मेवार छैनन् भनेर हामीले बुझ्न सक्छौँ। छानबिनले त्यसलाई स्पष्ट पार्ने नै छ। कुनै पनि आन्दोलनमा जब नरसंहार दमन हुन्छ, आन्दोलनकारी र जनताको प्रतिक्रियात्मक केही आवेगहरू प्रकट हुन सक्छन्। त्यसलाई चाहिँ त्यस रूपमा बुझ्नुपर्छ र प्रतिक्रियात्मक दमन गर्नुहुन्न। तर भाद्र २४ गतेको घटना चाहिँ त्यतिमा सीमित छैन। योजनाबद्ध रूपमा संविधान, लोकतन्त्र र हाम्रो देशको विविध पक्षहरूका विरुद्धमा योजनाबद्ध रूपमा घुसपैठ गरेर विध्वंसकारी घटना घटाएका छन्। त्यसको भने छानबिन गरेर दोषी माथि कडा कारबाही गरिनुपर्छ भनेर हामी प्रस्ट भएर जानुपर्ने आवश्यकता छ।
५. भ्रष्टाचारी माथि कारबाही गरियोस् र सुशासन अभियान अगाडि बढाइयोस्।
६. ध्वस्त गरेका राष्ट्रिय सम्पत्तिहरूको पुनर्निर्माण गरियोस्, त्यसमा सबैले मद्दत गरौँ।
घोषित मितिमा निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने संशयपूर्ण परिस्थिति विद्यमान रहेको अहिलेको अवस्थामा हामीले सम्पूर्ण कोसिस समयमै निर्वाचन सम्पन्न गर्नमा लगाउनुपर्दछ। साथसाथै सम्भावित सबै प्रकारको सङ्कट र चुनौतीको सामना गर्न पनि तयार रहनुपर्ने आवश्यकता छ।
पार्टी रूपान्तरण र पुनर्गठन
हामीले देशको यथास्थिति अन्त्य गरी अग्रगमनको दिशामा अघि बढ्न हाम्रो पार्टीको यथास्थितिको अन्त्य गर्नुपर्छ भन्ने अत्यन्त सही र गम्भीर निष्कर्ष निकालेका हौँ। पार्टीको यथास्थिति अन्त्य गर्नको लागि रूपान्तरण र पुनर्गठनको प्रक्रियालाई गुणात्मक ढङ्गले अगाडि बढाउन आवश्यक छ। अन्यथा पार्टीले आफ्नो राजनीतिक औचित्य पुष्टि गर्न सक्ने छैन र विघटन वा विसर्पमा पुग्नेछ भन्ने पनि हाम्रो निचोड हो। पार्टीको यथास्थितिलाई अन्त्य गर्न पार्टीमा विद्यमान निम्न मुख्य समस्यालाई समाधान गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष रहेको हो।
पहिलो, वैचारिक समस्या, निष्ठा, आदर्श र मूल्यको स्खलन, वैचारिक सैद्धान्तिक पक्षको उपेक्षा, पार्टीको कार्यदिशाको एकरूप समझदारीको अभाव, विचारको विकासको महत्त्व बोध नगर्नु यो हाम्रो वैचारिक समस्या हो।
दोस्रो, विधि पद्धतिको पालना, सामूहिक र संस्थागत कार्य प्रणालीमा गम्भीर समस्या, व्यक्तिवादलाई गुटवादले लिँदै छ ।
चौथो, भ्रष्टीकरण हो । नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको भ्रष्टीकरणको समस्या हाम्रो पार्टीमा पनि गम्भीर रूपमा विद्यमान छ।
पाँचौँ, उत्पीडित वर्ग र जनतासँगको सम्बन्ध हाम्रो कमजोर हुँदै गएको छ। निचोडमा भन्दा यो वैचारिक सांस्कृतिक समस्या वा वैचारिक सांस्कृतिक सङ्कट हो। यसको वस्तुगत कारण पार्टीको बुर्जुवाकरण हो। ठुलो वैचारिक सांस्कृतिक रूपान्तरणको महाअभियान र हाम्रो मौलिकताको सांस्कृतिक क्रान्तिले मात्रै यसको समाधान गर्न सक्दछ। पार्टीको रूपान्तरण पुनर्गठनको अभियानले सार्थक रूपमा तृप्त प्रदान गर्न सकेन र सकारात्मक गुणात्मक परिवर्तन देखाउन सकेन। यस सन्दर्भमा हाम्रो पार्टीमा दुई प्रवृत्ति विद्यमान छन्।
यो कुनै एउटा व्यक्तिको विरुद्ध अर्को व्यक्तिको विषय होइन। हामी सबैमा एक वा अर्को रूपमा विद्यमान प्रवृत्तिगत समस्या हो। यो दुई प्रवृत्ति हुन्। एउटा, पार्टीको निर्णयलाई निर्णय पुस्तिकामा सीमित राखेर वास्तविक व्यवहारमा जे गरिराख्या छ, त्यही गरिराख्ने तदर्थवादी यथास्थितिवादी अवसरवादी प्रवृत्ति। र अर्को पार्टीको निर्णय लागु गर्न इमानदार रहने रूपान्तरणकारी क्रान्तिकारी प्रवृत्ति। दोस्रोलाई पार्टी प्रवृत्ति र पहिलोलाई गैर पार्टी प्रवृत्ति भन्न सकिन्छ। यी दुवै दुई प्रवृत्ति मध्ये पार्टीको मूल प्रवृत्ति के भन्छ भन्ने कुराले पार्टीको भविष्य निर्धारण गर्नेछ।
पार्टीको सकारात्मक पक्ष
१, नेपालमा आज विद्यमान ऐतिहासिक राजनीतिक परिवर्तन, उपलब्धि र संविधानको निम्ति मुख्य निर्णायक भूमिका खेल्ने शक्ति हाम्रो पार्टी हो र त्यसको रक्षामा पार्टी प्रतिबद्ध छ।
२, बेलाबेलामा देखेका प्रतिक्रियात्मक कदम वा प्रतिगमन उन्मुख घटनाहरूका विरुद्धको सङ्घर्षमा निर्यदायी भूमिका खेल्दै सबै प्रतिगमन विरोधी शक्तिहरूलाई गोलबन्द गरेर प्रतिगमनलाई परास्त गर्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो।
३, नेपाली समाजको आवश्यकता र जनताको अपेक्षालाई पूर्ति गर्ने गरी सुशासन र समृद्धिको पक्षमा काम गर्न नसकिएको भए पनि सरकारमा रहँदा सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा अरू कुनै पार्टीको सरकारले भन्दा उल्लेखनीय भूमिका खेल्ने हाम्रो पार्टीको सरकार नै हो।
४, जनतासँग माओवादी जागरण अभियानले पार्टी र जनताको बीचमा सम्बन्ध राम्रो बनाउने काम गर्यो।
५, पार्टी सरकारबाट हटिसकेपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष कमरेडले संसद्मा गर्नुभएको सम्बोधन र अपिलले कार्यकर्ता जनतामा धेरै उत्साह र ऊर्जा दियो।
६, आफ्ना गल्ती कमजोरीको निम्ति पार्टीले साधुत्व रूपमा आत्मालोचना गर्दै आएको छ, त्यो पनि हाम्रो पार्टी नै हो।
पार्टीका कमजोरीहरू
यत्रो ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तनको मुख्य नेतृदायी शक्ति हुनुको नाताले हाम्रो काँधमा नै सामाजिक आर्थिक रूपान्तरण, समृद्धि र सामाजिक न्यायलाई गुणात्मक फड्कोको बिन्दुमा पुर्याएर आम जनतालाई नयाँ जीवन दिई नयाँ नेपालको अनुभूति गराउने जिम्मेवारी थियो।
देश सम्बन्धमा हामी शान्ति प्रक्रियामा आएदेखि नै जुन ढङ्गको गम्भीरता, तत्परता, नीति, योजना र आचरण प्रदर्शन गर्न सक्नुपर्थ्यो, त्यसो गर्न नसक्नु र हाम्रो पार्टी स्वयं वैचारिक सांस्कृतिक स्खलित र भ्रष्टिकृत हुँदै जानु हाम्रो सबैभन्दा ठुलो कमजोरी हो। यसरी हजारौँ महान शहीदहरूको रगतबाट निर्मित हाम्रो पार्टीले ती महान शहीदहरूको सपना साकार पार्ने दिशामा अपेक्षित गुणात्मक भूमिका खेल्न नसकेकोले पार्टीले आम जनसमुदाय समक्ष विनम्रतापूर्वक क्षमा याचना गर्नुपर्छ।
यस सन्दर्भमा पार्टीले पार्टी महाधिवेशन र केन्द्रीय समितिको विभिन्न बैठकहरूमा आत्म समीक्षा गर्दै पार्टीको अहिलेको भ्रष्टिकृत, स्खलित र कमजोर स्थितिको यथार्थलाई स्वीकार गर्यो। त्यसलाई बदल्न पार्टीको रूपान्तरण पुनर्गठनको महाअभियान अगाडि बढाउने र हाम्रो आफ्नै मौलिकतामा सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने निर्णय गर्यो। तर व्यवहारमा त्यो निर्णय प्रभावकारी लागु हुन सकेन। तदर्थवादी यथास्थितिवाद नै हाबी भइरह्यो।
अरू केही कमजोरीहरू
एमसीसी परियोजना आर्थिक विकास परियोजना नभएर मूलतः रणनीतिक योजना भन्ने पार्टीको निष्कर्ष हुँदाहुँदै पनि पार्टीले यसलाई संसद्बाट अनुमोदन गर्यो। नेपाली कांग्रेससँगको सरकारको समीकरण हठात् परिवर्तन गरी एमालेसँग नयाँ समीकरणको सरकार बनाउनु स्वार्थको बनाउनु अर्को कमजोरी हो। स्वार्थको द्वन्द्व भएको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु र रास्वपाको सभापतिप्रति नेतृत्वबाट ज्यादै बढी महत्त्व दिनु र पक्षधरता लिएको देखिनु पनि कमजोरी हो। यहाँ के कुरामा स्पष्टताका आवश्यकता छ भने रास्वपा सभापतिमाथि अनुसन्धान र हिरासत वा जेल बसाइँमा सरकारद्वारा गरेको भेदभाव, दुर्व्यवहार र अपमानजनक व्यवहारको हामीले कडा विरोध गर्नै पर्थ्यो। त्यसमा कुनै शङ्का छैन। तर हाम्रो नेतृत्वबाट अनुसन्धान र मुद्दा दायर कुनै विरोध गरेको जस्तो देखिने उपयुक्त भएन।
जनतासँग माओवादी जनजागरण अभियान प्रभावकारी रूपमा अघि बढिरहेकै बेलामा शेरबहादुर देउवालाई सरकार बनाउन समर्थन गर्ने र सरकारमा जानसमेत अभिव्यक्ति दिनु गलत थियो, जसले जनता र कार्यकर्तामा भ्रम उत्पन्न गर्यो।
भिजिट भिसाका सन्दर्भमा प्रमुख प्रतिपक्षी पार्टीले सरकारसँग दुई बुँदे गलत सम्झौता गर्नु पनि अर्को गल्ती थियो।
भर्खरै जेनजी आन्दोलनबाट विस्थापित एमाले र नेकपा पार्टीका प्रमुख सचेतकसँग मिलेर संयुक्त वक्तव्य दिनु र प्रतिनिधि सभा पुनःस्थापनाको नारा दिनु पनि कमजोरी हो। हाम्रो पार्टीले जेनजी आन्दोलनकारीकै प्रस्ताव र सहमति अनुसार अन्तरिम सरकार बनाउने तर प्रतिनिधि सभा मार्फत संवैधानिक रूपमा नै त्यसको आधार तयार पारेर गर्ने भन्ने प्रस्ताव राखेको थियो।
त्यो प्रस्तावमा सहमति नभएर प्रतिनिधि सभा मार्फत निर्णय गर्ने संवैधानिक बाटो अवलम्बन नगरी प्रतिनिधि सभा विघटन गरिएकोमा असहमति दर्ज गर्नु स्वाभाविक थियो। तर त्यसरी असहमति दर्ज गर्दागर्दै पनि पार्टीले अन्तरिम सरकारको गठन र निर्वाचन घोषणा प्रति सहमति र समर्थन जनाइसकेको सन्दर्भमा प्रतिनिधि सभा पुनःस्थापनाको नारा दिनु गलत थियो, त्यसले केही समय भ्रम पैदा गर्यो। म अन्ततिर आइपुग्या छु।
जेनजी आन्दोलन पछिको अवस्था र पार्टी पुनर्गठन
अब जेनजी आन्दोलन पछि के कुरा राम्ररी उजागर भएको छ भने पार्टीको रूपान्तरण पुनर्गठनको कुरा अब निर्णय र दस्ताबेजमा सीमित गर्ने कुरा स्वीकार र सह्य हुनसक्दैन। त्यसले हामीलाई पार्टीको राजनीतिक औचित्य समाप्त पार्ने, पार्टी सङ्गठनलाई विघटनको विसर्पको ठाउँमा पुर्याउने, देशलाई सङ्कटबाट बचाएर अग्रगामी दिशा लैजाने सम्भावना कमजोर बनाई अझ थप सङ्कटग्रस्त बनाउन सक्नेछ। यो छुट हामीलाई छैन र क्षम्य पनि हुनै सक्दैन। त्यसैले हामीले पार्टीको रूपान्तरण पुनर्गठनलाई नयाँ उचाइबाट आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्दछ। यसलाई सिङ्गो कम्युनिष्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनसम्म विस्तारित गर्नुपर्दछ।
यसको लागि हामीले विश्वमा विभिन्न आयाममा देखा परेका वस्तुगत परिवर्तनका पक्षहरूलाई सम्बोधन गर्ने गरी र प्रतिक्रियावादका शिक्षालाई आफ्नो साथ गरेर गत कालमा भएका कमीकमजोरीलाई सच्चाउने गरी दुवै कोणबाट विचारको विकास गर्न सक्नुपर्दछ। नेपालको सामाजिक क्रान्तिको चरित्र, वर्ग संरचना, सामाजिक विशेषता, सङ्घर्षका रूपहरूको विकास र भूराजनीतिक पक्षलाई समेत ध्यान दिएर राजनीतिक कार्यदिशालाई परिमार्जन र विकास गरेर स्पष्ट पार्नुपर्दछ।
साङ्गठनिक कार्यदिशा, सङ्गठन निर्माण र परिचालनको कार्य योजनालाई आजको विज्ञान, प्रविधि र सामाजिक यथार्थको सापेक्षतामा अघि बढाउनुपर्दछ। विचार, राजनीति, सङ्गठन, अर्थव्यवस्था र संस्कृति सबै क्षेत्रमा हामीमा अन्तर्निहित जडताको साँग्लोलाई च्यातेर वैज्ञानिक चेत र आजको यथार्थको आत्मसात गरेर तदनुरूप नीति, योजना, कार्यक्रम र कार्यसूची बनाएर अघि बढ्नु अपरिहार्य भएको छ। पार्टीको आजको आवश्यकता अनुरूपको फड्कोकारी रूपान्तरण र पुनर्गठनको निम्ति पार्टीभित्र व्यापक छलफल बहस सहित अभियान सञ्चालन गर्नुपर्दछ। त्यसलाई पार्टीको महाधिवेशन सम्पन्न र गुणात्मक बिन्दुमा पुर्याउनुपर्दछ। यसैबीचमा क्रान्तिकारी समाजवादी एवं इमानदार वामपन्थी शक्तिहरूको बीचमा पार्टी एकताको सम्भावना पकड्ने प्रयत्न गर्नुपर्दछ, र त्यस अवस्थामा एकता अधिवेशन गर्दै अघि बढ्नुपर्ने हुनसक्छ। राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको सम्प्रभुताको रक्षाको प्रश्न अत्यन्त गम्भीर बन्दै गइरहेको परिप्रेक्ष्यमा सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन अपिल गर्दै ती सबै शक्तिहरूलाई गोलबन्द गर्ने पहललाई गम्भीर रूपमा अगाडि बढाउनुपर्दछ। साथै भ्रष्टाचार विरुद्ध सुशासन, विधिको शासन, स्वच्छ कार्य र समृद्धिका पक्षधर इमानदार देखिएका सबै वाम लोकतान्त्रिक राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्यमूलक एकताको लागि प्रयत्न पनि अगाडि बढाउने निर्णय गरिनुपर्छ।
महाधिवेशन कहिले?
हामीले महाधिवेशनको आयोजना गर्दा एकातिर देशको तात्कालिक परिस्थिति र कार्यभारलाई र साथसाथै महाधिवेशनको उद्देश्य तथा न्यूनतम पूर्वशर्तको पालनामा ध्यान दिनुपर्छ। अहिले पार्टीको मुख्य ध्यान घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्ने बिन्दुमा त्यसलाई पुर्याउन र निर्वाचनको तयारीमा केन्द्रित गर्नुपर्दछ। निर्वाचन निर्धारित मितिमा हुन नसकेमा उत्पन्न हुने सङ्कटबाट देशलाई बचाउन र निर्वाचनमा हाम्रो राम्रो परिणाम ल्याउन हरसम्भव प्रयत्न गर्न त्यसैमा जोड दिनुपर्दछ। यस कोणबाट हेर्दा निर्वाचन मिति अघि मङ्सिरमा नै विशेष महाधिवेशन सम्भव र उपयुक्त हुँदैन। मलाई लाग्छ अहिले मङ्सिर भन्नु भएन कि जस्तो लाग्यो अध्यक्ष कमरेडले। त्यो भएपछि त अलि छलफलको नयाँ ठाउँ भइहाल्यो। यस कोणबाट हेर्दा निर्वाचनबाट हाम्रो पार्टीको वैचारिक सांस्कृतिक स्तरको न्यूनताको परिप्रेक्ष्यमा पार्टीको विभिन्न स्तरको सम्मेलन र अधिवेशनमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा अर्थात गुटबन्दीले पार्टीलाई आसन्न चुनावमा एकताबद्ध भएर तुरुन्तै प्रस्तुत हुनेमा गम्भीर समस्या उत्पन्न गर्न सक्नेछ। यसरी हेर्दा पनि निर्वाचन मिति भन्दा अगाडि विशेष महाधिवेशन गर्नु उपयुक्त हुँदैन।
यसका अतिरिक्त कुनै पनि वास्तविक महाधिवेशनको लागि दुइटा विषय अनिवार्य पूर्व सर्त हुन्छन्।
१, वैचारिक दस्ताबेज तयार पारी तलब पार्टीको सबै तहमा कार्यकर्ता समक्ष पुर्याउनु पर्दछ, र त्यसमाथि अध्ययन छलफल हुनुपर्दछ।
२, सबै वडा, पालिका र प्रदेश क्षेत्रका सम्मेलन र अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नुपर्दछ। दुई महिना भित्रमा यो कार्य पूरा गरेर सार्थक महाधिवेशन गर्न सम्भव देखिन्न। त्यसैले हामीले निर्वाचन पछि सम्भव भएसम्म छिटो महाधिवेशन गर्ने सोच अनुसार अघि बढ्नुपर्ने आवश्यकता छ।
प्रमुख कार्यकारी नेतृत्व बारे
पार्टी महाधिवेशन यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अगाडि बढ्दै गर्दा पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गरिनुपर्छ। अहिले जेनजी विद्रोहात्मक आन्दोलनले दिएको सन्देश, पारेको प्रभाव र निर्वाचनमा गर्नुपर्ने अपिलको सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ। महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणाली अन्तर्गत दोस्रो प्रकृतिले नेतालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ। यो पार्टी पुनर्गठनको सन्देश दिन र जनतालाई अपिल गर्न सकारात्मक कदम हुनेछ। अध्यक्ष कमरेड प्रचण्डले नै यो पहल लिँदा सामान्यतः नेपाली मुद्दाको राजनीतिमा र विशेषतः नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँको ऐतिहासिक अगुवाइको रूपमा स्थापित हुनेछ।
यहाँ के कुरामा पनि स्पष्ट हुन आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयमको वास्तविक सहमतिमा मात्रै यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्नेछ। यस सन्दर्भमा अर्को एक पक्षका बारेमा पनि स्पष्टताका आवश्यकता छ। अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट बिदाइ उहाँ प्रतिको सम्मानलाई कायम राख्दै र उहाँको निरन्तरताको वैचारिक, निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्ने गरिनुपर्दछ। नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने हुन्छ।
त्यसैले व्यक्ति नेताहरूको हकमा कमरेड प्रचण्डको मुख्य उदाहरण रहेको तथ्यलाई पनि मान्नै पर्ने हुन्छ। यो ऐतिहासिक सत्यलाई स्थापित गर्दै हामीले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्दछ। प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नुपर्दछ। तर हाम्रो खुला समाज एवं बहुदलीय प्रतिस्पर्धा प्रणालीको परिप्रेक्ष्यमा तीन दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चाको विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको परसेप्सनको परिप्रेक्ष्यमा जनतामा अपिल सहित पार्टी निर्माणको प्रक्रिया अगाडि बढ्न आजको सन्दर्भमा त्यसरी नयाँ ढंगले अगाडि बढ्नु पनि त्यतिकै आवश्यक छ।






