काठमाडौं । सरकारले अवैतनिक महावाणिज्यदूत (कन्सुलेट जनरल)ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ ।
अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तरराष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम यो निर्णय लिइएको सरकारले जनाएको छ ।
नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० वटाले यो सुविधा लिएका छन् ।
अवैतनिक कन्सुलेट जनरलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुखसरकार प्रमुख र परराष्ट्रमन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ ।







