असोज १६, काठमाडौं ।
राजधानीमा आफूखुसी स्थानीय तह र विद्यालय व्यवस्थापनले शिक्षण संस्था सुरु गरेपछि प्रशासनले त्यसो नगर्न पत्राचार गरेको छ । जथाभावी विद्यालय चलाए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
मन्त्रिपरिषद्को निर्णय विपरीत विद्यालय सञ्चालन गर्न थालिएपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णय पालना गर्न सचेत गराएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनावश्यक भिडभाड गर्न, स्कुल, कलेजसहित मनोरञ्जनका क्षेत्रहरुलाई सरकारले अझै बन्देज गरेको जनाउँदै निर्णय कार्यान्वयन गर्न परिपत्र गरिएको बताए । बुधबार गरिएको परिपत्रमा सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी भएको भनिएको छ ।
महामारी बढिरहेको अवस्थामा विद्यालय सञ्चालन गरिन थालेपछि अभिभावकको पनि गुनासो आएको बताउँदै दाहालले सरकारले मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेपछि मात्रै विद्यालय खोल्न आग्रह गरे ।
सरकारको निर्णयविरुद्ध कसैले जबरजस्ती गर्छ भने त्यो कारबाहीको विषय भएको दाहालको भनाइ छ । ‘कसैले सरकारको निर्णय बर्खिलाप गरेर एकलौटी विद्यालय सञ्चालन गर्न खोज्छ भने त्यो दण्डनीय छ,’ उनले भने ।
दाहालका अनुसार उपत्यकामा लागू गरिएको जोरविजोर प्रणालीलाई पनि कडाइका साथ कार्यान्वय गर्न ट्राफिक प्रहरी महाशाखा र प्रहरीलाई निर्देशन दिइएको छ ।







