मादी नदीमा कृत्रिम ताल बनाइने

असोज १६, तनहुँ ।
जिल्लाको व्यास नगरपालिका ३ र ५ मा रहेको मादी नदीमा कृत्रिम ताल निर्माण हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले मादीमा कृत्रिम ताल निर्माण गर्न लागेको हो ।

निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नगरपालिकाले इकोकोड नेपाल तथा प्यारागन जेभीसँग बिहीबार सम्झौता गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले ती संस्थाका प्रतिनिधि प्रवेश अधिकारीलाई सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।

मादी नदीले ओगटेको भूभाग क्षेत्रको आसपासमा बस्ती विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदी क्षेत्रको संरक्षण गर्ने उद्देश्य राखेर नगरपालिकाले प्रारम्भिक चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलको भनाइ छ । नगरपालिकाले वडा नं. ३, ४, ५, ६, ७ र १० अन्तर्गत मादी नदीको १८ किलोमिटर भूभागको गुरुयोजनासहित कृत्रिम ताल निर्माणको प्रकृया अगाडि बढाएको छ ।

एकीकृत विकास परियोजनाको प्रकृया अगाडि बढाइएकोमा गुरुयोजनाको प्रतिस्पर्धामा १३ फर्म छनोट भएका थिए । त्यसमध्ये मूल्याङ्कनबाट इकोकोड नेपाल तथा प्यारागन जेभी छनोट भएको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले ६ महिनाभित्र डिपिआर तयार गरेर नगरपालिका समक्ष बुझाउनुपर्ने सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।

मादीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सकिने नगरपालिकाको विश्वास छ । परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्सलगायत संरचना निर्माण गर्ने उद्देश्य छ । (रासस)