बस्नेत अन्नपूर्ण पोष्ट्को प्रधान सम्पादक

काठमाडौं : अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादकमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कले मंगलबार बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो।

तिनकुनेस्थित प्रधान कार्यालयमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नवनियुक्त प्रधान सम्पादक बस्नेतलाई स्वागत गरेका थिए। त्यस्तै उक्त समारोहमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई बिदाइ गरिएको थियो। अध्यक्ष क्याप्टेन थापाले प्रधान सम्पादक भण्डारीलाई आगामी यात्राको शुभकामना दिएका थिए।

बस्नेतलाई स्वागत गर्दै अध्यक्ष थापाले पत्रकारितामा परिपक्व अनुहार प्रकाशन गृहले पाएकाले आगामी दिन झन् प्रभावकारी हुने विश्वास राखेका थिए। ‘प्रिन्ट मिडियाले निकै चुनौती भोग्दै आएको छ। यस्तो अवस्थामा नयाँ नेतृत्वले पर्याप्त सुझबुझ र अनुभवसहित काम गरी नेपाली पत्रकारितालाई बलियो र उचो राख्ने विश्वास लिएको छु,’ थापाले भने।

नवनियुक्त प्रधान सम्पादक बस्नेत प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष पनि हुन्। कान्तिपुर दैनिकमा झण्डै २० वर्ष विभिन्न विभागीय प्रमुख भई काम गरेको अनुभव उनीसँग छ। इकान्तिपुर दैनिकको समाचार प्रमुखको अनुभवसमेत सँगालेका बस्नेत अधिवक्तासमेत हुन्।

बस्नेतले समाजमा समाचारको शक्ति बढाउन सके पत्रकारिता झन् प्रभावशाली हुने बताए। विभिन्न पुस्ताको ध्यान तान्ने र रुची बढाउने खालका समाचार सामग्रीको खाँचो अझै टड्कारो रहेको भन्दै उनले भने, ‘पत्रकारिता कहिल्यै मर्दैन। खाली कस्ता समाचार आइरहेका छन् भन्नेमात्र हो। नेपाली पत्रकारिताको ध्यान यसतर्फ जान जरुरी छ।

दोलखा घर भएका बस्नेतले आम सञ्चार तथा पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं कानुनमा स्नातक गरेका छन्। खोजमूलक र रचनात्मक पत्रकारिता अध्ययन र तालिमका क्रममा उनले भारत, अमेरिका, चीनसहितका मुलुक भ्रमणसमेत गरिसकेका छन्।