काठमाडौं । सुपरहेवा पावर कम्पनी लिमिटेडको १५औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।
सभामा कम्पनीले संखुवासभा जिल्लाको चैनपुर क्षेत्रमा अवस्थित हेवा खोलामा निर्माण गरिएको ६ मेगावाट क्षमताको सुपरहेवा खोला जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आएको जानकारी गराएको छ। आयोजनाको निर्माण क्रममा मिति २०८० असार २ गते आएको विनाशकारी बाढी–पहिरोका कारण करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेका संरचनामा ठूलो क्षति पुगेको थियो भने आयोजनास्थलमा कार्यरत १८ जना कामदार तथा कर्मचारी बाढीमा बेपत्ता भएका थिए।
उक्त प्राकृतिक विपत्तिपछि पुनः निर्माण कार्य सम्पन्न गरी आयोजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। आयोजनाको कुल लागत करिब १ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।
कम्पनीका अनुसार २०८२ साल वैशाख महिनादेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरिएको हो। चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा कम्पनीले करिब ५ करोड रुपैयाँ आम्दानी गरेको जानकारी साधारण सभामा प्रस्तुत गरिएको छ।
कम्पनीको कुल पूँजी संरचनाअन्तर्गत ८० प्रतिशत अर्थात् ७७ करोड रुपैयाँ संस्थापक शेयरधनीको रहेको छ भने बाँकी २० प्रतिशत बराबरको १९ करोड २५ लाख रुपैयाँको सार्वजनिक शेयर चालु आर्थिक वर्षभित्र निष्कासन गर्ने तयारी अगाडि बढाइएको कम्पनीले जनाएको छ।
साधारण सभाले कम्पनीको भावी योजना, वित्तीय अवस्था तथा जलविद्युत क्षेत्रको विकासमा सुपरहेवा पावर कम्पनीको भूमिकाबारे समेत छलफल गरेको थियो।







