कांग्रेस एकताका लागि विशेष पक्षका सात बुँदे प्रस्ताव, गठबन्धनदेखि टिकट हस्ताक्षरसम्म कडा अडान

काठमाडौँ— पार्टीभित्रको सम्भावित विभाजन रोक्न नेपाली कांग्रेसका संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच औपचारिक संवाद सुरु भएको छ। यस प्रयोजनका लागि दुवै पक्षबाट वार्ता समिति गठन गरिएको हो।

संस्थापन समूहको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक वार्ता समितिमा छन्। विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य सहभागी छन्।

वार्ताका क्रममा विशेष महाधिवेशन पक्षले पार्टी एकताका लागि सात वटा स्पष्ट शर्त अघि सारेको छ। ती शर्तहरू केन्द्रीय नेतृत्वको भूमिकादेखि आगामी निर्वाचन रणनीतिसम्म केन्द्रित छन्।

विशेष पक्षका अनुसार विशेष महाधिवेशनको राजनीतिक जिम्मेवारी कांग्रेस केन्द्रीय समितिले लिनुपर्नेछ। त्यस्तै, महाधिवेशनमा प्रस्तुत तथा संकलन गरिएका प्रस्ताव र सुझावहरूलाई औपचारिक रूपमा केन्द्रीय समितिले स्वीकार गर्नुपर्ने माग राखिएको छ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कुनै पनि अन्य राजनीतिक दलसँग गठबन्धन नगर्नुपर्ने शर्त पनि प्रस्तावमा समेटिएको छ।

उम्मेदवार चयन प्रक्रियामा विधानअनुसार संसदीय बोर्ड गठन गर्नुपर्ने र त्यस बोर्डमा विशेष महाधिवेशन पक्षको सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ। साथै टिकट वितरण एकलौटी रूपमा गर्न नपाइने स्पष्ट गरिएको छ।

विशेष पक्षले निर्वाचनका लागि वितरण गरिने टिकटमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुने र कार्यवाहक सभापतिको हस्ताक्षर अनिवार्य हुनुपर्ने अडान लिएको छ।

त्यसैगरी विशेष महाधिवेशनको औपचारिक समापन कार्यक्रममा कार्यवाहक सभापति खड्का र नेता शेखर कोइरालाको उपस्थिति सुनिश्चित गर्नुपर्ने पनि सात बुँदे प्रस्तावमा समावेश गरिएको छ।

अब यी शर्तहरूलाई लिएर हुने छलफलले कांग्रेसको आन्तरिक एकता र आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।