भक्तपुर – मध्यपुर अस्पताल लिमिटेडको १५औँ वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ। साधारण सभाले डा. रविना प्रधानाङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ।
नवनिर्वाचित समितिका अन्य सदस्यहरूमा डा. हरि प्रसाद सुवाल, डा. शिक्षा प्रकाश श्रेष्ठ, डा. रविन्द्र भक्त प्रधानाङ्ग तथा श्री विष्णु राज कार्की आगामी चार वर्षका लागि निर्वाचित भएका छन्। त्यस्तै, सुशिल राज पन्च र दिनेश के.सी. साधारण सभाबाट सदस्यका रूपमा मनोनित भएका छन्।
साधारण सभाले सर्वसाधारणका लागि कम्पनीको अधिकृत पुँजीको २० प्रतिशत शेयर निष्कासन गर्ने निर्णय पनि पारित गरेको छ।
गत आर्थिक वर्षमा अस्पतालले ५७,२४२ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको थियो। १०० बेड क्षमतामा सञ्चालनमा रहेको यो अस्पताल भक्तपुर जिल्लामै एमआरआई सेवा प्रदान गर्ने एकमात्र अस्पताल हो। हाल अस्पतालमा ४०७ जना कर्मचारी कार्यरत छन्।
त्यसैगरी, अस्पतालले आफ्नो स्वामित्वमा श्रद्धा इन्स्टिच्युट अफ हेल्थ साइन्सेस समेत सञ्चालन गर्दै आइरहेको छ।







