असोज १७, काठमाडौं ।
प्रदेशसभामा प्रदेश मन्त्रीपरिषद्ले प्रदेश नं। ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र तोक्ने निर्णय गरेलगत्तै उक्त प्रदेशको बुटवलमा आन्दोलन सुरु भएको छ । शुक्रबार सत्तारूढ दलका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि प्रदेशसभामा राजधानी र नामको विषयमा प्रस्ताव दर्ता भयो ।
दाङको भालुवाङलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घखाँचीको शीतगंगा गाउँपालिकालाई समेटेर राजधानी तोक्न लागिएको छ । तर यस निर्णयले प्रदेशको आर्थिक केन्द्र र राजधानीका रूपमा चर्चा पाउँदै आएको बुटवलवासी भने आन्दोलनमा उत्रेका छन् । विशेषगरी कांग्रेसले प्रदर्शन गरिरहेको छ ।
राजधानी बुटवलमा राख्ने कि दाङमा भन्नेमा सुरुदेखि नै विवाद हुँदै आएको छ । यद्यपि केही दिन अघिदेखि मुख्यमन्त्री शंकर पोखरेलले ‘भर्जिन’ ठाउँमा राजधानी बनाउने बताउँदै आएका थिए । र अहिले भयो पनि त्यही ।
हालको आन्दोलन विशेष भने मान्न सकिन्न । किनकी स्थायी राजधानी बुटवलमा राखेको भए दाङमा आन्दोलन हुने निश्चित थियो । अहिले दाङमा राख्ने निर्णय गर्दा बुटवल आन्दोलित भएको छ ।
उपयुक्त स्थान कुन ?
प्रदेश ५ मा जनसंख्या झन्डै आधा करोड छ । यसमा नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, रोल्पा, रुकुम९पूर्व० बाँके र बर्दिया गरी १२ जिल्ला छन् ।
यस प्रदेशको क्षेत्रफल लगभग २२ हजार २७७ वर्ग किमी छ । नक्सामा हेर्दाखेरि दाङको भालुवाङस्थित राप्ती उपत्यकामा तोकिएको राजधानी सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको मध्यभागमा पर्छ ।
नक्साको हिसाबले मात्र होइन, आवत–जावतको हिसाबले पनि बुटवलमा राजधानी राख्दा बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका जनतालाई राजधानीसम्म आउन टाढा पर्छ । तर, भालुवाङ उनीहरुका लागि बुटवलभन्दा नजिक पर्छ ।
अझ, दाङको पनि सदरमुकामतिर नभई अर्घाखाँची, कपिलवस्तु र प्युठानको सीमाक्षेत्रमा पर्ने भालुवाङ क्षेत्रमा राजधानी तोक्दा पश्चिमी जिल्लाका जनतालाई पायक पर्ने देखिन्छ ।
भालुवाङको तुलनामा बुटवलमा राजधानी बनाउँदा पश्चिमी जिल्लाका जनतालाई निकै नै टाढा पर्छ । तर, बुटवल नै स्थायी राजधानी हुनुपर्छ भन्नेहरू तर्क छ, भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं आवागमनको सहजतालाई हेर्नुपर्छ । रुपन्देही नै घर भएका कांग्रेस नेता बालकृष्ण खाँडको तर्क पनि यस्तै छ ।
बुटवल उक्त प्रदेशकै सबैभन्दा ठूलो सहर हो । नेपालको प्रमुख व्यापारिक नाका भैरहवा पनि यही शहरको दक्षिणी भागमा पर्छ । ऐतिहासिक लुम्बिनी पनि यही जिल्लामा पर्छ । कपिलवस्तुको तिलौराकोट पनि यसको नजिकै छ ।
यसका साथै प्रदेशका ठूला नेता एवं घरानिया व्यापारीहरुको प्रभाव बुटवलमा छ । साथै अर्घाखाँची, पाल्पा र गुल्मीका नेताहरु पनि दाङ भन्दा बुटवल नै आफ्नो पायक पर्ने स्थल ठान्छन् ।
कांग्रेसका केन्द्रीय नेता बालकृष्ण खाँड, राप्रपाका दीपक बोहोरा र नेकपाका विष्णु पौडेल, घनश्याम भुसाललगायतका नेताहरु बुटवलकै हुन् । विगतमा भोट माग्दा उनीहरुले कुनै न कुनै रुपमा बुटवललाई स्थायी राजधानी बनाउन पहल गर्ने आश्वासन दिएका थिए ।
यसरी ठूला नेताहरुको पहुँचका आधारमा बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउन सकिने आशा बुटवलबासीले गर्दै आएका थिए । ठीक यहीबेला नेकपा सरकारले हठात् रुपमा दाङलाई राजधानी बनाउने प्रस्ताव ल्याएपछि बुटवलमा आक्रोश देखिनु स्वाभाविकै हो ।
नेकपाले दाङमा राजधानी राख्ने निर्णय गरेपछि कांग्रेसले बुटवलमा आन्दोलन चर्काएर आगामी चुनावमा नेकपाको जनमत घटाउने रणनीति बनाउन लागेको नेकपा नेताहरुको बुझाइ छ । शुक्रबारदेखि नै बुटवलमा कांग्रेसले विष्णु पौडेल लगायतका नेकपा नेताको विरोध गर्न थालिसकेको छ ।
त्यसो त नेकपा नेता विष्णु पौडेल र घनश्याम भुसालहरु पनि बुटवललाई नै स्थायी राजधानी बनाउने पक्षमा थिए । तर, पार्टी अध्यक्षद्वयले दाङलाई राजधानी बनाउने सर्कुलर गरिसकेपछि पौडेल र भुसाल पार्टीको निर्णय मान्न बाध्य भएका छन् ।
अर्कोतिर, मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेल सुरुदेखि नै राजधानी दाङमा राख्नुपर्ने पक्षमा थिए । एमालेसँग पार्टी एकता हुनुभन्दा पहिले नै तत्कालीन नेकपा माओवादी केन्द्रले प्रदेश ५ को राजधानी दाङमा राख्नुपर्ने औपचारिक निर्णय नै गरिसकेको थियो ।
माओवादीले आफ्नो प्रदेश कमिटीको कार्यालय पनि दाङमै राखेको थियो । माओवादी नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, ओनसरी घर्ती, सबैका लागि बुटवल भन्दा दाङ नै पायक पर्ने भएकाले उनीहरु सबै दाङकै पक्षमा सुरुदेखि नै उभिएका थिए । रुपन्देहीकै माओवादी नेताहरु पनि पार्टीको त्यसबेलाको निर्णयमा असहमत नरहेको माओवादी खेमाका नेताहरू बताउँछन् ।
एक पूर्वमाओवादी नेताको भनाइ छ, ‘दाङलाई राजधानी बनाउने विषयमा माओवादीभित्र सर्वसम्मति थियो, विवादचाहिँ पूर्वएमालेका साथीहरुमा मात्रै हो । तर, अहिले महासचिव विष्णु पौडेल पनि सहमत भएरै दाङमा राजधानी राख्ने निर्णय भयो ।’
राजधानीबारे केही अस्पष्टता
प्रदेश ५ को मन्त्रिपरिषद बैठकले शुक्रबार दाङमा स्थायी राजधानी राख्ने निर्णय गरेर शुक्रबार नै प्रदेशसभामा पेश गरियो । साथै प्रदेशसभाले शुक्रबार ‘प्रदेश ५ को नामाकरण र राजधानीको प्रस्तावसम्बन्धी आन्तरिक कार्यविधि २०७७’ समेत पारित गरेको छ ।
यो कार्यविधिअनुसार प्रदेशसभाले तीन दिनभित्र स्थायी राजधानी र नाम तोक्ने छ । प्रदेशसभामा नेकपाको एक्लै दुई तिहाई बहुमत रहेकाले कांग्रेसको विरोधले गणितीय अर्थ राख्दैन ।
प्रदेशको नाम र राजधानी तोक्ने बेलामा विपक्षी दलसँग परामर्श नगरिएको कांग्रेसको गुनासो छ । आफूसँग बहुमत भएता पनि नेकपाले विपक्षीको सहमति लिने र सर्वसम्मत निर्णय गर्ने प्रयास गरेको भए सायद कांग्रेसले सडक आन्दोलन गर्ने थिएन कि रु
केन्द्रको निर्देशन
प्रदेशको स्थायी राजधानी र नामबारे अध्यक्षद्वय प्रचण्ड र ओलीले प्रदेशमा सर्कुलर गरेको विषयले पनि यतिखेर चर्चा पाएको छ । ओली र प्रचण्डले निर्देशन दिनासाथ हतार–हतार प्रदेश सरकारले यसलाई पारित गरेर उसैदिन संसदमा पेश गरेको देखिन्छ ।
विगतमा प्रदेश ३ को राजधानी र नाम तोक्दा पनि नेकपाले केन्द्रबाट ह्विप लगाएको थियो । प्रदेशले निर्णय गर्नुपर्ने विषयमा केन्द्रबाट ह्विप लगाइनु संघीयताको मर्म विपरीत हुने विश्लेषण हुँदै आएका बेला प्रदेश ५ मा पनि यही दोहोरिएको छ ।
प्रदेशको राजधानीबारे अर्को अस्पष्टता भनेको यसको भूगोल हो । प्रदेशसभामा राजधानीको भूगोलबारे सभामुखले पढेर सुनाए पनि सांसदहरुलाई लिखित प्रस्ताव दिइएको छैन ।
कांग्रेस सांसद फकरुद्दीन खान भन्छन्, ‘सभामुखज्यूले पढेर सुनाउनुभयो, पिजन हलमा राजधानीको भूगोलबारे कुनै विवरण उपलब्ध गराइएको छैन । यसले गर्दा राजधानीको खास भूगोल कुन हो भन्नेसमेत खुलेको छैन ।’
प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले शुक्रबारको बैठकमा दिएको मौखिक जानकारीअनुसार दाङको गढवा र राप्ती गाउँपालिका अनि अर्घाखाँचीको शीतगंगा नगरपालिका यी तीन स्थानीय तहले ओगटेको राप्ती नदी किनारको खाली ठाउँ वा देउखुरी उपत्यकामा स्थायी राजधानी राख्ने प्रस्ताव प्रदेश सरकारले अघि सारेको छ ।
प्रदेशको राजधानी जहाँ राखे पनि निर्वाचन भएको तीन वर्षसम्म नाम र स्थायी राजधानी टुंगो लाग्न नसकेका दुई वटा प्रदेश छन् । प्रदेश १ र प्रदेश २ । सुदुरपश्चिम प्रदेशले जंगल क्षेत्रमा स्थायी राजधानी तोकेको पनि दुई वर्ष बितिसकेको छ ।
यसै कारण पनि ढिला नहोस् भन्न विरोधकै बीच प्रदेश ५ सरकारले नाम र राजधानीको टुंगो लगाउन खोजेको हो । बुटवलका कांग्रेसीले आन्दोलन चर्काउँदै गर्दा दाङका कांग्रेस समर्थकहरु चाहिँ आफ्नो जिल्लामा राजधानी आउने कुराले खुशी देखिन्छन् । दाङ पूर्व माओवादी मात्र होइन, यो कांग्रेसको पनि पुरानो गढ हो ।







