काठमाडौँ – आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर राजनीतिक चहलपहल बढेको छ। निर्वाचन आयोगका अनुसार ६८ वटा राजनीतिक दल र ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारसहित कुल ३ हजार ४८४ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
कुल उम्मेदवारमध्ये २ हजार २९७ जना विभिन्न राजनीतिक दलका छन् भने १ हजार १८७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। महिला सहभागिता ३९५ जनामा सीमित देखिएको छ, जसमा २३५ जना दलबाट र १६० जना स्वतन्त्र उम्मेदवार छन्। पुरुष उम्मेदवारको संख्या ३ हजार ८८ पुगेको छ भने अन्य दुई जना पनि प्रतिस्पर्धामा छन्।
उमेर समूहका आधारमा हेर्दा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा बढी छन्। यस समूहबाट १,६१० जनाले मनोनयन दर्ता गराएका छन्। २५–३५ वर्ष उमेर समूहका ५८३, ५१–६५ वर्ष समूहका १,०९० तथा ६५ वर्षभन्दा माथिका २०१ जना उम्मेदवार चुनावी दौडमा छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६ माघमा सम्पन्न मनोनयन प्रक्रियामा १६५ वटै निर्वाचन क्षेत्रमा उत्साहजनक सहभागिता देखिएको छ। प्रत्यक्ष निर्वाचनसँगै समानुपातिक प्रणालीअन्तर्गत ११० सदस्य निर्वाचित हुनेछन्, जसका लागि राजनीतिक दलहरूले बन्दसूची बुझाइसकेका छन् र प्रक्रिया अघि बढिरहेको छ।







