असोज १७, बुटवल ।
प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयमा सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको छ । नेपाल कम्युनिस्ट पार्टिका १४ सांसदले यसमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो । त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले उक्त निर्णयको विरोध गरेका छन् ।
१४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेको बताए । बिहान ८ बजेदेखि झण्डै ८ घण्टा चलेको बैठकमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा.कृष्ण न्यौपानेले जानकारी दिए ।
‘दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त छैन भनेर लिखित नोट अफ डिसेन्ट लेखेर विरोध जनायौं’ डा. न्यौपानेले भने । सांसदहरुले प्रदेशसभामा आफ्ना विचार निर्वाध रुपमा राख्नपाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएको सांसद तुल्सी चौधरीको भनाइ छ ।
बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई र पार्टीको निर्णय बाहिर नजान निर्देशन दिएको बैठकमा सहभागी एक सांसदले बताए । सचेतक भूमिश्वर ढकालले भने सरकारले प्रदेशसभामा पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको बताएका छन् ।







